कर्णालीको राजनितिक समस्या समाधान अव केन्द्रबाटै, नेताहरुलाई काठमाण्डौँ बोलाइयो

सुर्खेत, २७ असोज (जागरण) । कर्णाली प्रदेशमा देखा परेको राजनितिक समस्या समाधानको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका पार्टी पदाधिकारीसँग छलफल गरी टुङ्गो लगाउने भएको छ ।

पार्टीका अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रदेश कमिटिका पदाधिकारीसँग छलफल गर्ने तयारी गरेका हुन् । त्यसका लागि प्रदेश कमिटीका इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरख बोगटी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाइएको छ ।

कर्णाली प्रदेशको विवादलाई लिएर आज बालुवाटारमा भएको ओली, प्रचण्डको छलफल पछि प्रदेशका पदाधिकारीलाई काठमाडौं बोलाइएको हो ।

उनीहरुलाई पर्सी बिहीबार काठमाडौं बोलाइएको छ । नेकपा नेता सुवासचन्द्र नेम्बाङका अनुसार छलफलमा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पनि बोलाइएको छ ।

कर्णाली प्रदेशको संसदीय दलमा विवाद चुलिएपछि त्यही विषयको छलफलका लागि अध्यक्षद्वयले प्रदेश कमिटीका पदाधिकारीलाई काठमाडौं बोलाएका हुन् ।

विवादका विषयमा केन्द्रले छलफल गर्न थालेपछि मुख्यमन्त्रीको तर्फबाट भएका र हुँदै गरेका निर्णयहरु तथा असन्तुष्ट पक्षका गतिविधिहरु हाललाई अघि नबढ्ने भएका छन् ।

यसैबीच, दुई दिनअघि मात्रै मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सात जना प्रदेशसभा सदस्यहरुले विभिन्न पद र अवसर पाउने भएपछि ब्याक भएका छन् । यो विषयले राजनितिमा स्वार्थ केन्द्रित फोहोरी खेल भइरहेको विश्लेषण हुन थालेको छ ।