विद्यालय बाहिर रहँदाको परिणामः पढेकै कुरा बिर्सँदै कर्णालीका विद्यार्थी (अडियो सहित)

सृजना बुढाथोकी ।

सुर्खेत, १ कात्तिक (जागरण) । दैलेख गुराँस गाउँपालिका दैलेखका छात्र टोपेन्द्र विक लामो समयदेखि विद्यालयमा जान नपाउँदा पहिला पढेकै विषय बिर्सन थालेको बताउनुहुन्छ ।

अघिल्लो वर्ष पढेको कक्षाबाट उतिर्ण भई माथिल्लो कक्षामा पुगेको तर हाल पठनपाठन गरिरहेको तहको कुनै पनि कक्षामा आफू सहभागि हुन नसकेको उहाँको भनाई छ ।

कालिकोट शुभकालिका गाउँपालिकाका वीरेन्द्र रावतको भनाई पनि यस्तै छ । उहाँले पनि चालू शैक्षिक सत्रमा कुनै कक्षामा सहभागिता जनाउनुभएको छैन । उहाँहरुले भनेको जस्तै कोरोनाका कारण लामो समयसम्म विद्यालय जान नपाउँदा कर्णालीका हजारौ विद्यार्थीहरु प्रभावित भएको बताउनुहुन्छ कालिकोटका अर्का छात्र सुदिप बुढा ।

विद्यार्थीहरु घरमै बस्दा विगतमा बढेको कुराहरु पनि बिर्सदै गएका छन् । कोभिड १९ ले सबै क्षेत्रमा प्रभाव पारेको छ । अझै धेरै शिक्षा क्षेत्र प्रभावित बनेको छ । कोरोना भाइरसको संक्रमणपछि यसको नियन्त्रण गर्ने भन्दै सरकारले गत चैत ११ गतेदेखि साउनसम्म लकडाउन गर्यो । त्यसको प्रत्यक्ष असरमा विद्यार्थीहरु पर्न गए ।

उनिहरुको पठनपाठन पूर्ण रुपमा बन्द भयो । देशभर नियमित विद्यालय जाने ८० लाख विद्यार्थी अहिले प्रभावित छन् । सरकारले असार १ गतेदेखि बैकल्पिक माध्यमबाट सिकाई प्रारम्भ गर्यो । तर त्यो त्यती प्रभावकारी हुन सकेन् ।

कर्णालीको सन्दर्भमा त झन यसको प्रभावकारिता प्राय शुन्य जस्तै देखियो । जसले विद्यार्थीहरुको पठपाठन अहिले पनि अन्यौल जस्तै छ । कर्णाली प्रदेशमा बैकल्पिक सिकाईको माध्यम प्रभावकारी हुन नसकेको शिक्षक महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवेन्द्र अधिकारी बताउनुहुन्छ ।

शिक्षण सिकाईलाई पुर्ववत् अवस्थामा ल्याउन स्थानिय, प्रदेश र संघ गरी तीनवटै तहका सरकारहरुले गतिलो उपाय अपनाउन सकेका छैनन् । उनिहरुको शिक्षण सिकाई निरन्तरताका लागि के घरमै आफन्तले सिकाउने र अन्य वैकल्पिक व्यवस्था गर्नुपर्ने शिक्षा विद् डाक्टर मन प्रसाद वाग्ले बताउनुहुन्छ ।

माध्यमिक शिक्षा सम्मको अधिकार स्थानीय तहलाई दिइएको छ । कर्णालीका स्थानीय तहहरुले शिक्षण सिकाईको लागि आफ्ना आफ्नै तरिकाले आफ्नो अनुकूल निर्णय गरी अघि बढेको गाउँपालिका महासंघका कर्णाली प्रदेश अध्यक्ष भिम बहादुर सेनले जानकारी दिनुभयो ।

कर्णालीका करिब ३० हजार विद्यार्थी कुनैपनि संचारको पहुँचमा छैनन् । यस्तो अवस्थामा बैकल्पिक माध्यमबाट हुने शिक्षा प्रभावकारी नहुने सरोकारवालाहरु बताउछन् ।

प्रदेश सरकारले पनि स्थानिय तहको अवस्था र सञ्चारको पहुँचको आधारमा काम गर्नुपर्ने जनाएको छ । अनलाइनको पहुँच रहेको ठाउँमा अनलाइनबाट र रेडियो लगायतका सञ्चार माध्यमको पहुँच रहेको ठाउँमा त्यस्ता माध्यम प्रयोग गर्नुपर्ने बताउनुहुन्छ सामाजिक विकास मन्त्रालय शिक्षा निर्देशनालयका निर्देशक दिपा हमाल ।

लामो समयपछि कर्णालीका केही विद्यालयहरु संचालन गर्न थालिएपनि पठनपाठन भने प्रभावकारी छैन् । विद्यार्थीहरुको कोरोनाको डरले विद्यालय नजाने र खोलिएका विद्यालयहरु पनि बन्द हुन थालेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको २०७५/०७६ को तथ्यांकअनुसार कर्णालीका १० जिल्लामा मावि तह (१–१२) सम्म अध्ययन गर्ने ५ लाख ८२ हजार २ सय १६ विद्यार्थी छन् ।

थप सुनौँ अडियोमार्फत्ः