सुर्खेत, ५ कार्तिक (जागरण) । कर्णालीमा पछिल्लो २४ घण्टामा थप एक सय ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुमपश्चिम र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणका क्रममा थप एक सय ८१ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ५१ जना पुगेको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताउनुभयो ।
यस्तै, कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसुलेसन सेन्टरबाट थप १ सय एक जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ९ सय ८५ पुगेको अधिकृत कँडेलले बताउनुभयो ।
कर्णालीमा अब संक्रिय संक्रमितको संख्या एक हजार एक सय ८५ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै, सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मंगलबार मृत्यु भएको छ ।
उपचारका क्रममा वीरेन्द्रनगर नगरपालिका–८, सुर्खेतकी ८६ वर्षीया महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार मंगलबार दिउँसो १ बजे मृत्यु भएको हो ।
योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।