बडादशैँः विधिपूर्वक महाअष्टमी मनाइदै

काठमाण्डौँ, ८ कात्तिक (जागरण) । विधिपूर्वक घटस्थापना गरी जमरा राखेर सुरु भएको हिन्दुहरुको महान चाड बडादशैँको आठौँ दिन आज महाअष्टमी मनाइँदै छ । नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौंस्वरुप महागौरीको विधिपूर्वक पूजा आराधना गरेर मनाइने परम्परा रहिआएको छ ।

नवरात्रिभर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा ९ ओटा साना ढुंगालाई नवदेवीका प्रतीमाका रुपमा मानेर माता दुर्गाका नौ रुप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा–अर्चना गरिन्छ ।

घटस्थापनाको दिनदेखि नै देवीहरुको प्रतिमा स्थापना गरेर नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिँदै आएको छ । आजैको मध्यरात अर्थात् नवमीको सुरुआतमा देवीहरुको विशेष पूजा–अनुष्ठान गरिन्छ ।

आजको दिन बली दिने चलन चलिआएको छ । आजकै दिन घरघरमा खसीबोका काट्ने चलन छ । त्यस्तै बलीका रुपमा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र बलि दिन नचाहनेहरुले कुभिन्डो, घिरौला आदि बली दिने गरेका छन् ।

यस्तै आज मध्यरातमा कालरात्रिको रुपमा कसै कसैले कालोबोका काटेर देवीलाई समेत चढाउने गरेका छन् । यद्यपि पशु अधिकारवादीहरुले र केही धार्मिक सम्प्रदायले यसको विरोध गर्दै आएका छन् ।

यस्तै आजकै दिन घर घरमा अरु दिन प्रयोग गरिने हातहतियार धोई पखाली पूजा गरेर राख्ने चलन छ । दशैँभर उत्सवका रुपमा मनाइने र घरखेतीका काम नगरिने भएकाले सबै हातहातियारहरु धोई पखाली राखिने चलन रहिआएको छ ।

यसैबीच, चाडपर्व नजिक भए सँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट मूलघरतर्फ फर्कनेको लर्को लाग्न थालेको छ । अध्ययन र विभिन्न रोजगारीको सिलसिलामा वीरेन्द्रनगरमा बसोबास गर्नेहरु आफ्नो मूलथलो तर्फ फर्कन थालेका हुन् । यसैगरी अन्य जिल्ला सदरमुकामहरुबाट समेत गाउँतर्फ फर्किनेको लर्को नै देखिने गरेको छ ।