दशैँमा मासु खाँदै हुनुहुन्छ ? सचेत रहनुहोस् है !

सुर्खेत, ७ कात्तिक (जागरण) । दसैंमा सचेत भएर मासु उपभोग गर्न कर्णालीका डाक्टरहरुले सुझाव दिएका छन् । डाक्टरहरुका अनुसार यो समयमा मासुको गुणस्तर नहेरी जथाभावी सेवन गरिए धेरै प्रकारका रोगबाट पीडित हुने खतरा बढ्छ ।

उनिहरुले दसैंमा सकेसम्म ‘थोरै खाऔं तर गुणस्तरीय शुद्ध मासु नै सेवन गरौं’ भन्ने सुझाव दिएका छन् । दसैंमा सबैभन्दा बढी खसीबोकाको मासु उपभोग हुन्छ । सामान्य समयभन्दा यो समयमा करिब दोब्बर हाराहारीमा मासु खपत हुन्छ ।

मासुमा मसलाको प्रयोग कम गर्नुपर्ने बताउँदै कर्णाली प्रदेश अस्पतालका जनरल फिजिसियन डाक्टर केएन पौडेलले सुगर, युरिक एसिडलगायतका स्वास्थ्य समस्यासँग जुधिरहेकाहरुले सकभर खसीको मासु प्रयोग नगर्न सुझाव दिनुभयो ।

यस्तै, नपकाएको मासु फ्रिजमा राख्दा ठीक भए पनि पकाइसकेको मासु फ्रिजमा राख्ने र खाने बेलामा तताउने प्रक्रिया पनि मानव स्वास्थ्यका लागि निकै घातक हुने उहाको भनाई छ ।

रातो मासुमा प्रोटिनको मात्रा धेरै हुने भएकाले राम्रोसँग पकाएर खानुपर्ने उहाँको सुझाव छ । मासु सकेसम्म ७२ डिग्री सेल्सियस तापक्रममा पकाएर खाँदा उत्तम मानिन्छ ।