सुर्खेत, ८ कात्तिक (जागरण) । कोरोना परीक्षण गर्दै आएका कर्णाली प्रदेशका चारवटा प्रयोगशाला तीन दिनका लागि बन्द भएका छन् ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला, रुकुमपश्चिमस्थित चौरजहारी प्रयोगशाला र दैलेख अस्पतालको प्रयोगशाला तीनदिनको लागि बन्द गरिएको हो ।
तीन दिनको लागि स्वाब परीक्षण र रिपोर्ट सार्वजनिक गर्ने काम स्थगित गरिएको कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार आज कात्तिक ८ गतेदेखि पर्सी कात्तिक १० गतेसम्म प्रयोगशाला बन्द रहने र दशैँको भोलीपल्टदेखि नै परिक्षण सुचारु गरिनेछ ।
यसैबीच, कर्णाली प्रदेशमा पछिल्लो पटक थप ५८ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै कर्णालीमा कोभिड–१९ कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार ६ सय ७३ पुगेको छ ।
पछिल्लो पटक तीन सय १७ जनाको परीक्षण गरिएकोमा ८५ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणबाट ३२, पुशपंन्छी रोग अन्वेषण प्रयोगशालामा प्रदेश अस्पतालले गरेको परिक्षणबाट २१, चौरजहारी प्रयोगशालामा चार र दैलेख अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको हो । कँडेलले हालसम्म प्रदेशमा जम्मा ८६ हजार ६ सय २२ जनाको आरटी पीसीआर परीक्षण गरिएको बताउनुभयो ।