सुर्खेत, १३ कात्तिक (जागरण) । कोभिड १९ कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि कर्णाली प्रदेशका विभिन्न सरकारी अड्डाका काम रोकिएका छन् ।
कालिकोट जिल्लाको जिल्ला प्रशासन कार्यालय र सुर्खेतको भेरीगंगा नगरपालिकाले आफ्नो सेवा बन्द गरेका छन् भने हुम्लाको ताँजाकोट गाउँपालिकाले आफ्नो सीमानाका बन्द गरेको छ ।
एक जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय कालीकोट चार दिनका लागि सिल गरिएको छ । कर्मचारीको सम्पर्कमा आएका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेसहित १४ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रशासन कार्यालयले जनाएको छ ।
अहिलेसम्म कालीकोटमा दुई सय तीन जनामा सङ्क्रमण देखिएको छ भने एक सय ७३ जना डिस्चार्ज भइसकेका छन् । त्यस्तै सक्रिय सङ्क्रमित ३० जना कालीकोटका विभिन्न आइसोलेसन सेन्टरमा बसिरहेको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभयो ।
यसैगरी, सुर्खेतको भेरीगंगा नगरपालिकाले आगामी एक हप्ताको लागि आफ्ना सेवा बन्द गरेको छ । नगरपालिकाका केही कर्मचारी, जनप्रतिनिधि तथा पदाधिकारीहरुमा कोरोना संक्रमण देखिएपछि भोलीदेखी कात्तिक १९ गतेसम्म सेवा बन्द गर्ने निर्णय भएको हो ।
नगरपालिकाको कार्यालय तथा नगरपालिकाअन्तर्गत शाखा, उपशाखा र वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेक अन्य सबै प्रकारका सेवा बन्द रहने नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले जानकारी दिनु भएको छ ।
संक्रमित सँगको कन्ट्रयाक्ट ट्रेसिङ्ग गर्न र कोरोनाको जोखिम कम गर्न यस्तो निर्णय भएको समाचार रेडियो भेरिगँगा छिन्चु सुर्खेतबाट सिपी कार्कीले पठाउनुभएको छ ।
हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ ।गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिनुभयो।
पालिकाले बाजुरा जिल्लाको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाका पाँच दिन बन्द गरेको हो । हुम्लामा नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।