मानव तस्करीको आशंकामा जनप्रतिनिधी प्रहरीको फन्दामा

सुर्खेत, १४ जेठ (जागरण) । न्युनतम मापदण्ड विपरितको बालगृहका सञ्चालक, सिफारिसकर्ता वडा अध्यक्ष र बालबालिका ओसारपसारमा संलग्न व्यक्ति मानव तस्करीको अभियोगमा पक्राउ परेका छन् ।
रुकुममा पक्राउ परेका बालगृह सञ्चालकलाई जुम्ला पठाईएको छ । जुम्लामा दुईजना वडा अध्यक्ष र ओसारपसारमा संलग्न अर्का एक जनालाई पक्राउ गरिएको छ ।
रुकुम (पश्चिम) को मुसीकोट नगरपालिका १ मा रहेको नर्सिङ्ग हिमालय अनाथ बालगृह नेपालका सञ्चालक विवेक बुढालाई थप अनुसन्धानको लागि जुम्ला पठाईएको हो । शनिबार पक्राउ परेका बुढाले सञ्चालन गरेको बालगृहबाट ३३ जना बालबालिकाको उद्धार गरिएको थियो ।
यसैबिच, जिल्लाबाट बालबालिका ओसारपसार गर्न सहयोग गरेको अभियोगमा जुम्लाको पातारासी गाउँपालिका–१ का वडा अध्यक्ष दत्तबहादुर बुढा र २ नम्वर वडा अध्यक्ष कर्ण बोहोरालाई झिकाई तारेखमा छाडिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिनुभयो ।
यो अभियोगमा पासाङ्ग लामालाई पक्राउ गरि हिरासतमा राखिएको छ ।