कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन तत्काल नहुने

सुर्खेत, १७ कार्तिक (जागरण) । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तयारी गरेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन अन्तिम समयमा रोकिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि मुख्यमन्त्री शाहीको तयारी सफल हुन नसकेको हो ।
प्रचण्डले पार्टी एकताको भावनलाई अप्ठ्यारो पर्ने काम नगर्न भनेपछि मुख्यमन्त्री पछि हटेको स्रोतले बताएको छ ।
आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी ओली निकट दुई मन्त्रीलाई राजीनामा दिन आग्रह गर्नुभएको थियो ।
तर, प्रधानमन्त्री ओली निकट मन्त्रीहरु दल रावल र नन्दसिंह बुढाले राजीनामा नदिने, बरु हटाए हट्ने अडान लिएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी रोकिएको हो ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा उभिएका मन्त्रीहरु रावल र बुढालाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री शाही जुट्नुभएको थियो ।
मुख्यमन्त्री शाहीले तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने सहमति गरेपछि नेता नेपाल पक्षका सात सांसद् अविश्वासको प्रस्तावबाट पछि हटेका छन् ।