पंख बहादुर शाही ।
सुर्खेत, १७ कार्तिक (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारका सडकमा सडक सुरक्षाको अबस्था कमजोर देखिएको छ ।
प्रदेशको राजधानीमा समेत सडक सुरक्षा कमजोर देखिएको हो । एकातिर सवारी चाप बढ्दो छ भने अर्कोतर्फ सडकको अवस्था कमजोर हुँदा दुर्घटनाको जोखिम पनि बढेको हो ।
जेब्रा क्रसिङ्गको व्यवस्थापन नभएको र भएको जेब्रा क्रसिङ्ग पनि मेटिन थालेकाले दुर्घटनाको जोखिम बढेको यात्रीहरुले बताएका छन् ।
विशेषगरी खजुरा चोक देखि–बसपार्क आसपास क्षेत्रमा जथभावी रुपमा सवारीसाधन सडकमा राखिएको देखिन्छ ।
ट्राफिक कार्यालय सुर्खेतले वीरेन्द्रनगरका सडकमा जेब्राक्रसको अति आवाश्यक भए पनि सम्बन्धीत पक्षले ध्यान नदिएको बताएको छ ।
संरचना बनेमा कार्यान्वयन गर्न आफुहरु सक्षम भएको ट्राफिक कार्यालयका प्रहरी सहायक निरिक्षक हरिभक्त रोकायले कर्णाली रैबारलाई बताउनुभयो ।
रोकायाका अनुसार पछिल्लो समय वीरेन्द्रनगरका सडकमा दैनिक २५ हजार सवारीसाधनहरु आवत–जावत गर्ने गरका छन् । गत बर्ष भन्दा ५ प्रतिशतले सवारीसाधनको संख्या वृद्धी भएको उहाँको भनाई छ ।
प्रहरी निरिक्षक रोकायाले बसपार्क पनि व्यवस्थित नहुँदा अझै समस्या भएको बताउनुभयो । निर्माण भएको सिटी बसपार्क सञ्चालन नभएको र अहिलेको बसपार्क आसपासमा सडक सुरक्षाको निकै समस्या रहेको उहाँको भनाई छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जेब्राक्रसको लागि छुट्टै योजना नभएको तर, सबै पक्षसँगको सहकार्यका केही दिनमै काम थालिने बताउनुभयो ।
मुख्य सडक रत्नराजमार्ग अन्तर्गत धुलियाविट देखि बाङ्गेसिमल सम्मको सडकमा बनाइएको जेब्राक्रम अहिले मेटिएको अबस्था छ ।
जेब्राक्रसको लागि चालु आर्थिक वर्षमा योजना भएपनि बजेटको अभाव रहेको सडक डिभिजन कार्यालय सुर्खेतका सुचना अधिकारी सजना पोखरेलले बताउनुभयो ।