कर्णालीलाई अवको आठ महिनाभित्र पूर्ण साक्षर घोषणा गर्ने तयारी

पंख बहादुर शाही ।
सुर्खेत, १९ कात्तिक (जागरण) । कर्णाली प्रदेशलाई अवको आठ महिनाभित्र पूर्ण साक्षर घोषणा गरिने भएको छ ।
साक्षरता दर ५९ दशमलव २ प्रतिशत रहेको कर्णाली प्रदेशलाई चालू आर्थिक वर्षभित्रै साक्षर कर्णाली घोषणा गर्ने तयारी भएको हो ।
नेपालभरकै तथ्याङ्क हेर्दा कर्णाली प्रदेशको साक्षरता दर निकै कम हो । कोरोना महामारीका कारण केही ढिला भए पनि चालू आर्थिक वर्षभित्रै साक्षर कर्णाली घोषणा कार्यक्रमले सार्थकता पाउने प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले विभिन्न अभियानमार्फत् नागरिकलाई साक्षर बनाई पूर्ण साक्षर प्रदेशको रुपमा घोषणा नै गर्ने योजना रहेको कर्णाली रैबारलाई बताउनुभयो ।
नेपाल सरकारले २०७२ सालमै पूर्ण साक्षर नेपाल बनाउने भने पनि कर्णाली प्रदेशको साक्षरता दर अन्य प्रदेशको तुलनामा कमजोर रहेको पाइएको छ ।
१५ देखि ५९ बर्ष उमेर समुहको जम्मा जनसंख्यामध्ये ४० दशमलव ८ प्रतिशत नागरिकहरु अझै निरक्षर रहेको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
नेपाल श्रम शक्ति सर्वेक्षण २०७४÷०७५ अनुसार कर्णालीमा काम गर्ने उमेर समुह अथवा १५ देखि ६० बर्ष उमेर समुहको जम्मा जनसंख्या ११ लाख ६३ हजार छ ।
निर्देशनालयले दिएको जानकारी अनुसार कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिमलाई साक्षर जिल्ला घोषणा गरिएको छ, भने डोल्पा, हुम्ला, मुगु, कालिकोट र जुम्ला अहिले सम्म साक्षर जिल्ला घोषणा हन बाँकी नै छन् ।
शिक्षा विकास निर्देशनालयका निर्देशक दिपा हमालले कर्णालीका पाँच जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने भने पनि कोरोनाले गर्दा कार्य प्रभावित भएको बताउनुभयो । उहाँकाअनुसार अव स्थानिय तहसँग मिलेर साक्षर अभियान चलाइने छ ।