अपराधिक क्रियाकलाप रोक्न सीसीटिभी थप

सुर्खेत, १९ कात्तिक (जागरण) । विभिन्न अपराधिक क्रियाकलाप हुन सक्ने भन्दै सुर्खेतको वीरेन्द्रनगरभित्र ८९ ओटा सिसिटिभि थप गरिएको छ ।
यसअघि २७ वटा सिसिटिभी क्यामरा रहेकोमा केही बिग्रिएका र केही सकुसल रहेकोमा थप ८९ वटा नयाँ जडानसँगै पुरानोलाई मर्मत समेत गर्न थालिएको हो ।
२४ सैं घण्टा प्रहरीले यसको निगरानी पनि गर्ने भएको छ । सडकमा तिव्रगतिमा सवारी हाक्ने तथा मनमानी गर्नेहरुका लागि अबको निगरानी सीसीटिभी क्यामराले गर्ने छ ।
ओभोर स्पीडमा सवारी चलाउने, चौक तथा टोलहरुमा शंकास्पद गतिविधि गर्ने, बजारमा क्षेत्रमा मनलाग्दी गर्नेलाई कारवाही गर्न वीरेन्द्रनगर नगरपालिकाले नगरका विभिन्न स्थानमा ८९ ओटा सीसी क्यामरा जडान गरेको हो ।
वीरेन्द्रनगरका विभिन्न स्थानमा जडान गरिएका सीसीटिभी क्यामराहरुको निगरानी कन्ट्रोल जिल्ला प्रहरी कार्यालय सुर्खेतले गरिरहेको छ ।
अपराधिक घटनाहरु तत्कालै पत्ता लगाउन, नागरिक र बजारको सुरक्षार्थ नगरका विभिन्न स्थानमा सीसी क्यामरा जडान गरिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा नगरपालिकाको बजार क्षेत्रमा सीसीटिभि क्यामरा जडान गर्न ४० लाख र कर्णाली प्रदेश सरकारले ६९ लाख बजेट विनियोजन गरेको थियो ।
नगरका उपत्यकाभित्र पर्ने १३ वटै वडामा फाइबर तारसहित सीसीटिभी क्यामरा जडानमा बजेट खर्च भएको ढकालले बताउनुभयो । केही समयमा सबै क्यामरा सञ्चालनमा ल्याउने गरी काम भइरहेको उहाँले बताउनुभयो ।