जनता आवास कार्यक्रमः घर निर्माण कार्यमा ढिलाई

खड्क सुनार ।
मुगु, १९ कात्तिक (जागरण) । मुगुका चार वटै स्थानीय तहमा दलित बस्ती लक्षित जनता आवास कार्यक्रमअन्तर्गत ३ सय ५० घर निर्माण कार्यमा ढिलाई भएको छ ।
जनता आवास कार्यक्रमअन्तर्गत अतिगरिब र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण कार्य संचालन भएपनि काममा ढिलाई भएको हो ।
घर निर्माणको लागि केन्द्र सरकारले समयमै किस्ता भुक्तानी नगर्दा निर्माणमा ढिलाई भएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
११ करोड ३ लाख ५० हजार लागतमा गत आर्थिक वर्ष २०७५÷०७६ मा २ करोड ९० लाख ५० हजार पहिलो किस्तामा जुम्लाबाट आएको थियो ।
यस्तै गत आर्थिक वर्ष २०७६÷७७ को दोस्रो किस्तामा ३ करोड ४० लाख रकम बराबरको जनता आवास घर निर्माण हुँदै गरेको पूर्वाधार विकास कार्यालय मुगुले जनाएको छ ।
कार्यालय मुगुका सबइन्जिनियर लक्ष्मीबहादुर भण्डारीकाअनुसार चालू आर्थिक बर्षको ५ करोड ९० लाख संघबाट आउन बाँकी छ ।
छायाँनाथ रारा नगरपालिकाका १ सय ५८, कार्मारोङ ११, सोरु ६५ र खत्याड गाउँपालिकामा १ सय १६ भवन गरी ३ सय ५० घर निर्माणाधीन अवस्थामा रहेको उहाँले बताउनुभएको छ ।