चामलमा भएको अनियमितताबारे अनुगमन गर्न समिति गठन

सुर्खेत, कात्तिक २० (जागरण) । कर्णाली प्रदेश सरकारले चामल ढुवानीमा हुने अनियमितताबारे अध्ययन गर्न सात सदस्यीय अनुगमन समिति गठन गरेको छ ।
कर्णालीका हिमाली जिल्लाहरूमा हुने चामल ढुवानीमा अनियमितता भएको पाइएपछि आफूहरुले अनुगमन समिति गठन गरेको प्रदेश सरकारकी प्रवक्ता एवंम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।
प्रवक्ता केसीका अनुसार आज बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर कृष्णप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरेको होे ।
समितिमा कर्णाली प्रदेश प्रहरी प्रमुख, मुख्यमन्त्री कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक–एक जना प्रतिनिधि, खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रदेश कार्यालयका प्रमुख, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख सदस्य रहने छन् ।
समितिलाई समग्र ढुवानी व्यवस्थाको अनुगमन गर्न जिम्मेवारी दिइएको प्रवक्ता केसीको भनाई छ ।
यो समितिले प्रदेशका सबै जिल्लाको खाद्यान्न ढुवानीबारे स्थलगत अनुगमन गरी सरकारलाई रिपोर्ट बुझाउने छ ।
कर्णालीका दुर्गम ठाउँमा पठाउने सरकारी अनुदानको २ सय ५० क्विन्टल चामल भक्तपुर लैजाने क्रममा कात्तिक १३ गते सुर्खेत प्रहरीले सुब्बाकुनाबाट बरामद गरेको थियो ।
घटनापछि व्यवसायीको बदमासीले अनुदानको चामल ढुवानीमा अनियमितता हुने गरेको पाइएको छ ।