पार्टीलाई फुटबाट जोगाउनुपर्ने नेकपा कर्णालीका नेताहरुको जोड

सुर्खेत २० कात्तिक (जागरण) । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका नेताहरुले पार्टीलाई फुटबाट जोगाउनुपर्ने बताएका छन् ।
प्रदेश सभा सदस्यहरुले पार्टी एकता आवश्यक रहेकोमा जोड दिदैँ पद्दति र विधिमा पार्टी चल्नुपर्नेमा बताएका हुन् ।
नेताहरूले पार्टीलाई सङ्गठनात्मक सिद्धान्तका आधारमा चलाउनुपर्ने बताउँदै संस्थागत तथा विधिसम्मत रूपमा पार्टी चल्नुपर्नेमा उनिहरुको जोड छन् ।
नेकपाका केन्द्रीय सदस्य गुलाब जंग शाहले पार्टी कुनै पनि हालतमा नफुट्ने बताउनुभयो । उहाँले कर्णालीको समस्या केन्द्रमा पुगेकाले नेकपाका दुई अध्यक्षले नै मिलाउने बताउनुभयो ।
कर्णालीका आफूहरू एक्लैका कारण केही नहुने र प्रदेशतिर हतारमा निर्णय लिन नहुने उहाँको तर्क छ ।
अर्का केन्द्रीय सदस्य चन्द्रबहादुर शाहीले पार्टी फुट्न नहुने भन्दै पार्टीमा नमिलेका कुरा विधिसम्मत रूपमा छलफल चलाएर समाधान गरिनुपर्ने बताउनुभयो ।
कर्णालीको समस्या समाधानका लागि पार्टी केन्द्रमा विवादको विषय पुगिसकेकाले केन्द्रले नै सहजिकरण गर्नेमा आफु आशाबादी रहेको उहाँले बताउनुभयो ।
नेकपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य विन्दमान विष्टले पनि पार्टी संस्थागत रूपमा चल्नुपर्नेमा जोड दिनुभएको छ ।