श्रीमानको हत्या गर्ने महिला पक्राउ

सल्यान, २१ कात्तिक (जागरण) । श्रीमानको हत्या गरेको भन्दै सल्यान प्रहरीले एक महिलालाई प्रक्राउ गरेको छ ।
कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङका ५४ वर्षका आफ्ना श्रीमान रामे कामीको हत्या गरेको भन्दै ४३ वर्षीया ईश्वरी कामीलाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकोमा प्रहार गरेर हत्या गरिएको मृतकका बुवाले प्रहरीलाई जानकारी दिएपछि इश्वरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कुनै सन्तान नभएको र जग्गा बेचेर पसल गर्ने विषयमा उनिहरुबीच झगडा हुने गरेको मृतकका बुवाले किटानी जाहेरीमा उल्लेख गर्नुभएको छ ।
ती महिलालाई पक्राउ गरेर जिल्ला अदालत सल्यानबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता, प्रहरी निरिक्षक लक्ष्मण ओलीले जानकारी दिनुभएको छ ।