कर्णालीका मुख्यमन्त्री घोडाबाट खस्दा घाइते

हुम्ला, २२ कात्तिक (जागरण) । हुम्ला पुग्नुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही दुर्घटनामा पर्नुभएको छ ।

कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको जनतासँग मुख्यमन्त्री भन्ने टेलिभिजन कार्यक्रमको छायांकनका लागि सिमकोट गाउँपालिका वडा नम्बर ३ को लिमाटाङ जाने क्रममा मुख्यमन्त्री शाही लडेर सामान्य घाइते हुनुभएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिनुभयो ।

सिमकोटबाट गाडीमा गएका मुख्यमन्त्री शाहीलाई आधाबाटो बाट घोडा चढाइएको थियो । मुख्यमन्त्री शाहीले चढेको घोडा तर्सिदा लडेर घाइते भएको हुनुभएको हुम्लाका पत्रकार दाने बोहोराले जागरणलाई बताउनुभयो ।

यस्तै मुख्यमन्त्रीको टोलीले हिल्दुम विद्युत वितरण केन्द्र र प्रदेश सरकारबाट सञ्चालीत योजनाहरुको अनुगमन गर्ने कार्यक्रम थियो । उहाँको टाउकोमा चोट लागेको छ । शाहीलाई सिता एयरको हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ ।