कर्णालीमा स्वास्थ्य सचेतनाका कार्य अघि बढाउन राष्ट्रिय सभाका अध्यक्षको सुझाव, जनतालाई जोगाउन नमस्कार अभियान ।।

कार्तिक २४, जागरण (सुर्खेत) ।  कर्णालीमा आउनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेनाले स्वास्थ्य सचेतनाको अभियान चलाउन सुझाव दिनुभएको छ । उहाँले कोरोनाको महामारीको समयमा जनतालाई जोगाउन हरेक सांसदले नमस्कार अभियान संचालन गर्न जरुरी रहेको बताउनुभएको छ ।

विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोग तथा कर्णाली प्रदेश सभाको आयोजनामा कोभिड जस्तो महामारी र जोखिममा प्रभावकारी संचारको लागि सांसदहरुको भूमिका विषयक कार्यक्रममा उहाँले नमस्कार अभियान गरी साँसदहरु गाउँ गाउँमा जानुपर्ने सुझाव दिनुभएको हो ।

आर्थिकभन्दा पनि सबैभन्दा ठूलो पुँजी चेतना नै भएकाले सांसदलाई जनतालाई जोगाउन नमस्कार अभियान सञ्चालन गर्न अध्यक्ष तिमिल्सेनाले सुझाव दिनुभयो । जनप्रतिनिधिप्रति नागरिकको ठूलो विश्वास हुने भएकाले गरेको काम तथा व्यवहार अनुसरण गर्न नागरिक प्रयासरत हुने बताउदै सामाजिक दुरी कायम गर्न, मास्क सहित रुपमा प्रयोग गर्न र नमस्कार गरेर सम्मान गर्न नागरिकलाई आव्हान गर्न आफ्नो निर्वाचन क्षेत्रमा जान आग्रह गर्नुभयो ।

अध्यक्ष तिमिल्सेनाले भेन्टिलेटरले मात्रै नागरिकलाई जोगाउन नसकिने बताउँदै सबै नागरिकलाई कोरोनाबाट जोगाउन जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । साथै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जनताको आत्मबल बढाउन यो अभियान प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो । प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले सरकारले अहिले स्थानिय तहस्तरमा स्वास्थ्य सेवामा पहुँच पुर्याइरहेको बताउँदै एक्सरे नभएको जिल्लामा भेन्टिलेटर र आइसियू कक्ष स्थापना भइसकेको बताउनुभयो ।

उहाँले एक अर्बको कोभिड कोष स्थापना गरेको बताउँदै कर्णालीका विकट जिल्लामा कोरोनाबाट कोहि सिकिस्त भएको खण्डमा हवाई मार्गबाट उद्धार गरेर भएपनि उपचार गर्ने योजनामा सरकार रहेको बताउनुभयो । कर्णालीका हरेक नागरिकको उपचार सरकारले गर्ने पनि मन्त्री रावलले जानकारी दिनुभयो ।
कोरोनाका कतिपय लक्षण अरु रोगको लक्षण संग पनि मिल्ने भएकाले नडराउन आग्रह गर्दै विश्व स्वास्थ्य संगठन डाक्टर दिपेन्द्र गौतमले सबै लक्षण देखिएमात्रै कोरोना जाचँ गर्न उहाँको सुझाब छ ।