कर्णालीका हिमाली जिल्लाहरुमा चिसो बढ्यो

जुम्ला, २५ कात्तिक (जागरण) । कर्णाली प्रदेशका हिमाली जिल्लामा हिउँ पर्न शुरु भएसँगै चिसो बढ्न थालेको छ ।
प्रदेशका हुम्ला, डोल्पा, मुगु र जुम्लाका उच्च भागमा हिउँ परेसँगै तापक्रम माइनसमा पुग्न थालेको हो । चिसोका कारण जनजीवन कष्टकर बन्न थालेको स्थानिय नागरिकहरुले बताएका छन् ।
स्थानिय नागरिककाअनुसार चिसोले बरफ जम्न थालेपछि पानीका धारासमेत बन्द हुन थालेका छन् । कात्तिक महिनाको दोस्रो हप्तादेखि हुम्लामा चिसो बढ्न थालेसँगै जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो ।
रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा सीमा सुरक्षाको लागि खटिएका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक तथा बिओपी हिल्साका प्रमुख सुरज केसीले जानकारी दिनुभयो ।
बाल्टिनलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत जमेर बरफ हुन थालेको छ । दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउने गरेको छ । चिसो बढ्दै गएपछि हिल्सा प्रहरी चौकीले मङ्सिर पहिलो हप्तातिर सिमकोट सर्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल प्रहरीको टोली जिल्ला फिर्ता भए पनि सशस्त्र प्रहरी हिउँदको समयमा पनि हिल्सामै रहने छ । मङ्सिर लागेसँगै हिल्सा, लिमीलगायतका उच्च क्षेत्रमा रहेका प्रहरी चौकी जिल्ला सदरमुकामतिर सर्ने गरेका छन् ।
हिल्सामा बिओपी स्थापना भएसँगै यो वर्षदेखि सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिने भएको छ ।