सुर्खेत, २७ कात्तिक (जागरण) । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का स्थानीयले रत्नराजमार्गदेखि हरियाली चौक जोड्ने सडक निर्माणले आफुहरुको जग्गामा क्षती पुगेको भन्दै क्षतीपुर्ती दिन माग गरेका छन् ।
नगर गुरुयोजना अन्तर्गत पर्ने रत्नराजमार्ग एरपोर्ट चोक देखि हरियाली चोक जोड्ने सडकको काम अघि बढाउन शुरु गरिएको हो । सडक निर्माण शुरु भएसँगै स्थानीयले आफुहरुको क्षती भएको जग्गाको उचित मुल्य दिन माग गरेका हुन् ।
सडक निर्माणले पाँच घरका परिवारको जग्गामा क्षती भएको भन्दै स्थानीयले आफुहरुको लागि उचित व्यवस्था गरिदिन वीरेन्द्रनगरनगरपालिकासँग माग गरेका छन् ।
उनीहअरुले आफ्ना मागहरु सम्बोधन नगरेर नै जथाभावी रुपमा आएर आवासमा डोजर लगाएको गुनासो गरेका छन् ।
सडक सबैलाई आवश्यक रहेको भन्दै विकासको काममा अवरोध नगरिएको भन्दै उनिहरुले आफुहरुलाई आवासको व्यवस्थापन गरिदिनुपर्ने बताएका छन् ।
स्थानीय समिन खानले आफ्नो पक्की एकतले घर समेत सडक निर्माणले जाने भएको भन्दै नगरपालिकाले तत्काल आवसको व्यवस्थासहित उचित क्षतीपुर्ती दिन माग गर्नुभयो ।
अर्का स्थानीय सेतु वेवीले पनि आफुहरु २०५२ सालदेखि बस्दै आएको बताउँदै अहिले आफ्नो घरजग्गामा सडक बन्न थालेकाले आफुहरुलाई उचित व्यवस्था गरिदिन माग गर्नुभयो ।
यसैबिच, स्याक नेपालदेखि माथितिरको अर्को टोलका स्थानीयले भने सडक निर्माण आफ्नो टोलबाट हुनुपर्ने माग गरेका छन् । स्थानीय खगिसरा विसीले जसरी भएपनि सडक चाहिने बताउनुभयो ।
यता, नगरपालिकाले नगरगुरुयोजनाका बाटोहरु खोल्ने निर्णय गरेसँगै उक्त, बाटो खोलिएको वडा अध्यक्ष लोकप्रसाद चालिसेले कर्णाली रैबारलाई बताउनुभयो ।