सवारी दुर्घटना रोक्न नयाँ प्रविधि संचालन

सुर्खेत, २७ कात्तिक (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको फोरलेन सडकमा सवारी दुर्घटना बढ्न थालेपछि न्यूनिकरण गर्न ट्राफिक प्रहरीले नयाँ प्रविधि सञ्चालनमा ल्याएको छ ।
सवारी दुर्घटना कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले पहिलो पटक सवारी गति मापन यन्त्र (राडार गन) प्रयोगमा ल्याएको हो ।
कार्यालयका निमित्त प्रमुख प्रतापकुमार खत्रीको टोलीले फोरलेन सडक खण्डका विभिन्न ठाउँमा पुगेर सवारी गति मापन यन्त्र (राडार गन) को प्रयोग गरेर सवारीको गति जाँच गरेको छ । राडर गनले तीन÷चार किलोमिटरबाट आउँदै गरेको सवारीको गति मापन गर्न सक्छ ।
प्रहरी एकतिर बसेर केही परबाट आउँदै गरेको सवारी तिर राडर गन फर्काएर त्यसको स्पीड मापन गर्न सकिने निमित्त प्रमुख खत्रीले बताउनुभयो ।
खत्रीले आफूखुसी ओभर स्पीडमा सवारी चलाउनेहरुलाई कारवाही गर्न फोरलेनमा सवारी गति मापन यन्त्र प्रभावकारी हुने बताउनुभयो । सवारी दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ सेवन जाँच, कागजपत्र जाँचसँगै गति नाप्ने यन्त्रको पनि प्रयोग सुरु गरिएको उहाको भनाई छ ।