प्रदेश सांसदको लोगो भिर्ने, घरभाडा वापत पन्ध्र हजार बुझ्ने तिन हजार नतिर्ने (अडियोसहित)

पंख बहादुर शाही ।
सुर्खेत, २८ कात्तिक (जागरण) । प्रदेशसभाका सदस्यहरुलाई सरकारले घरभाडा बापत रकम उपलब्ध गराउने गरेको छ । तर कर्णाली प्रदेश सभाका एकजना सांसदले २० महिनादेखिको भाडा नतिरेको पाइएको छ ।
रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य रातो कामीले २०७५ मंसिर देखि हालम्मको घरभाडा नतिरहेको पाईएको हो ।
प्रदेश सरकारले आवास खर्च भनेर मासिक करसहित १५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । तर, उहाँले २० महिनाको घरभाडा तिर्नुभएको छैन् ।
जिल्ला समन्वयन समिति सुर्खेत कार्यालयको स्वामित्वमा रहेको घरमा उहाँ भाडामा बस्दै आउनुभएको छ । तर समन्वय समितिले पटक पटक पत्र काट्दा पनि घरभाडा नदिइएको बताइएको छ ।
मासिक ३ हजार भाडा तिर्ने गरेर उहाँ आवासमा बस्दै आएपनि २०७७ साउन महिना सम्मको ६० हजार रकम तिर्नुभएको छैन् । जबकी घरभाडाको लागि १५ हजार रकम छुट्टै आउने गर्दछ ।
सांसद कामीले समन्वय समतितिसँग ९ बुँदे घरभाडा सम्झौतामा गर्नुुभएको थियो । सम्झौता रिन्यु पनि गरिएको छैन् ।
प्रदेश सभा सचिवालयका लेखा अधिकृत यामबहादुर विसीका अनुसार सांसद कामीले मासिक रुपमा पाउनुपर्ने १५ हजार रकम लिईरहनुभएको छ ।
जिल्ला समन्वय समितिको घरमा दुइजना प्रदेश सभा सांसदहरुसहित १६ जना बस्ने गरेका छन् । प्रदेश सभा सदस्य झोवा विक पनि त्यही घरमा भाडामा बस्नुहुन्छ तर उहाले हाल सम्मको सम्पुर्ण रकम बुझाएको विवरणमा छ ।
तर सांसद कामीले भने २० महिनाको रकम तिर्नुभएको छैन् । १५ हजार रकममध्य तिनहजार भाडा तिर्नुपर्ने तर त्यो भाडा समेत दिनुभएको छैन नी ? भन्ने कर्णाली रैबारको प्रश्नमा उहाले भन्नुभयो, ‘यो खास्सै ठुलो समस्या होइन् ।’
सांसद कामीले आफु लकडाउनको समयमा रुकुममा रहेका हुँदा भाडा बुझाउन ढिलाई भएको बताउनुभयो ।
उहाँले हामीसँग गर्नुभएको कुराकानीको अडियो सुन्नुहोस्ः