जुम्लामा १६ बर्षिया बालिका हत्या प्रकरणः पिडित पक्ष आन्दोलित

दिलमायाँ शाही ।
जुम्ला, २९ कात्तिक (रेडियो नारी आवाज) । जुम्लामा १६ वर्षीया बालिका बबिता रोकाया हत्या आरोपको मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् ।
हिमा गाउँपालिका– ३ मोफ्ला गाउँकी १६ बालिका हत्या आरोपको मुद्दा कमजोर बनाएको भन्दै पिडित पक्षले आन्दोलन गरेका हुन ।
पीडित पक्ष र प्रहरी बीच झडप हुदा दुवै पक्ष ६ जना घाइते भएका छन् । पीडित पक्षबाट घाइते हुनेमा खाम्बा रोकाया, हरिभक्त कठायत र सुवि कठायत छन् ।
त्यसैगरी सशस्त्र प्रहरीका उदय खत्री र राजबहादुर रावत घाइते भएका छन । त्यस्तै, नेपाल प्रहरीका निदेश रोकाया घाइते भएका छन् ।
घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला उपचार भईरहेको प्रहरीले जनाएको छ ।
आन्दोलनले उग्र रुप लिन थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरि भिड तिदरवितर पारेको छ ।
बालिका हत्या जस्तो जघन्य अपराधको घटनाका आरोपितलाई धरौटीमा छोड्न थालेपछि आन्दोलित हुनु परेको पीडित पक्षको भनाई छ ।
बालिका हत्या आरोपमा हिमा गाउँपालिका–३ मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय रामचन्द्र डाँगीलाई प्रहरीले पक्राउ गरेको थियो ।
आरोपित डाँगीका ५ कार्तिकमा र भण्डारीलाई ८ कार्तिकमा प्रहरी पक्राउ गरी कर्तव्य ज्यान सम्वन्धी मुद्दा चलाएको छ ।
रामचन्द्र डाँगी घटनाका योजनाकार भनिएको छ । उनको योजनामा जघन्य घटना भएको बालिकाका आफन्तले भनेका छन् ।
मुद्दा कमजोर बनाएर घटनाका योजनाकारलाई नै धरौटीमा रिहा हुन थालेपछि पीडित पक्ष आन्दोलित हुनु परेको पिडित पक्षको भनाई छ ।
यता, प्रहरी नायव उपरीक्षक माधबप्रसाद काफ्लेका अनुसार असोज १९ गतेको राति घरबाट बेपत्ता भएकी किशोरीको कात्तिक एक गते हिमा गाउँपालिका– १ पागरपाली स्थित हिमा नदीको छेउमा शव फेला परेको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कात्तिक १ गते पोस्टमार्टम गर्दा किशोरीको पेटमा तीन महिनाको बच्चा देखिएको थियो ।
‘डिएनए र भिसिआर परीक्षणका लागि प्रहरी विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको काफ्लेले बताउनुभयो ।
हत्या गरेको आरोपमा हिमा गाउँपालिका– ३ मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय रामचन्द्र डागीको नाममा किशोरीका आफन्तले कर्तव्य ज्यान मुद्दा दर्ता गराएका थिए ।