कर्णालीमा थप ८५ जनामा कोरोना पुष्टी

सुर्खेत, ३० कात्तिक (जागरण) । कर्णाली प्रदेशमा थप ८५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टी भएको छ ।
कर्णाली प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल प्रयोगशाला र चौरजहारी अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ८५ जनामा संक्रमण पुष्टि भएको हो ।
कर्णालीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ हजार ४ सय ३१ जना रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो ।
यसैबीच, थप ४४ जना कोरोनामुक्त भएसँगै प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ५ हजार ७ सय ४४ जना पुगेको छ ।
अब कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसुलेसन सेन्टरमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय ३९ जना रहेको मन्त्रालयले जनाएको छ ।
यसैबिच, कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेका अधिकांश कोरोना भाइरस संक्रमित होम आइसोलेसनमा बसेका छन । कर्णालीमा पाँच सय ३९ जना सक्रिय संक्रमित होम आइसुलेसनामा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।