सांसदले घरभाडा तिर्न वास्था नगरेपछि प्रदेशसभालाई लिखित पत्राचार गर्ने तयारी

प्रविण शाही ।
सुर्खेत, ३० कात्तिक (जागरण) । कर्णाली प्रदेश सभा सदस्य रातो कामीले दुइ बर्ष सम्म पनि आवासको भाडा नतिरेपछि जिल्ला समन्वय समिति सुर्खेतले कर्णाली प्रदेश सभालाई लिखित पत्राचार गर्ने तयारी गरेको छ ।
सांसद कामीले प्रयोग गर्दै आएको आवासको २४ महिनाको ७२ हजार रकम तिर्नुभएको छैन् । मौखिम रुपमा पटक–पटक भाडा रकम तिर्नेबारे जानकारी गराउँदा पनि सांसद कामीले सुनुवाई नगरेपछि प्रदेशसभालाई पत्राचार गर्ने योजना भएको जिल्ला समन्वय अधिकारी दुर्गा प्रसाद चालिसेले जानकारी दिनुभयो ।
मंसिर १ गते सम्म उहाँले भाडा तिर्नेबारे कुनै जानकारी गराउनुभएन भने पत्राचार गरिने उहाँले बताउनुभयो ।
सम्झौताको मिति पनि सकिएकाले प्रदेश सभालाई पत्राचार नै गर्ने योजनामा रहेको चालिसेले बताउनुभयो ।
सांसद कामीले जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको आवास भवन नं.१० प्रयोग गर्दै आउनुभएको मंसिर १ गते दुई बर्ष पुग्दै छ । प्रदेश सरकारले आवास खर्च भनेर करसहित १५ हजार रकम उपलब्ध गराउँदै आएको छ ।
तर, उहाँले मासिक ३ हजार तिर्नुपर्ने आवासको भाडा तिर्नुभएको छैन् । प्रदेश सरकारले दिने मासिक १५ हजार रकम भने उहाले बुझी रहनुभएको छ ।
सम्झोता पत्रमा भनिएको छ,‘दोस्रो पक्षलाई मासिक रुपमा बुझाउनुपर्ने भाडा हरेक महिनाको मसान्तभित्र कार्यालयको आर्थिक प्रशासन शाखामा उपस्थित भई बुझाउनुपर्ने छ । तोकिएको समयमा भाडा नबुझाएमा प्रचलित कानुन बमोजिम हर्जना लाग्ने भनिएको छ ।
यसअघि सांसद कामीले यो खास्सै ठुलो विषय नभएको भन्दै आफुले सबै भाडा तिर्ने प्रतिवद्धता कर्णाली रैबारसँग जनाउनुभएको थियो ।