यमपञ्चकको चौथो दिन आज गाई र गोरुको पुजा गरिँदै

काठमाडौं, ३० कात्तिक (जागरण) । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्र्तगत यमपञ्चकको आज आज चौथौ दिन । अर्थात् आज कार्तिक कृष्ण औसी, आज देशभर परम्परा अनुसार गाई, गोवर्धन, गोरुको पूजा गरिँदै छ । नेवार समुदायले भने आज आत्म पूजा अर्थात म्हःपूजा गर्दै छन् । गाईलाई लक्ष्मीको प्रतीकका रुपमा सिंङ् र खुरमा तेल तथा जीउमा रातो पहेंलो छाप लगाई पूजा गर्ने प्रचलन छ । तिथिको घटबढका कारण गाई र गोरु पुजा एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
गाइलाई पूजा गरी मिष्ठान्न परिकार खुवाउने गरिन्छ । रक्षाबन्धनको दिन हातमा बाँधेको डोरो आज गाईको पुच्छरमा बाँधिदिएमा मरेपछि बैतर्णी नदी तरिने धार्मिक बिश्वास रहेको छ । आ–आफ्नो आँगनमा लिप पोत गरी गोवर्धन पर्वतको प्रतीकका रुपमा गाईको गोवरले पर्वतको आकृति बनाई गोवर्धन पूजा गरिन्छ । द्धापर युगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई ठूलो वर्षाका कारण हुने क्षतिबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसै बेला देखि गोवर्धन पर्वतकोे पूजा गर्ने चलन चलेको धार्मिक विश्वास छ ।
आज कृषि कार्यसँग विशेष रुपमा गाँसिएका गाई, बाच्छा तथा माहादेवको वाहनका रुपमा मानिएको गोरुको पुजा गरिन्छ ।
गोरुलाई पुजा गरि रोटि, बाबर, पिठो आदि खानेकुरा खुवाउने गरिन्छ । यसैबीच नेवार समुदायमा आजै म्हःपूजा अर्थात आत्माको पुजा गरिँदैछ । साँझ परिवारका सम्पूर्ण सदस्य एकै ठाउँमा भेला भएर म्हःपूजा अर्थात् आत्म पूजा गर्ने चलन छ । आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ म्हःपूजा गरिँदै आइएको छ ।