पछिल्लो दुइदिन कर्णालीमा भेटिएनन् कोरोना संक्रमित

सुर्खेत, ३ मंसिर (जागरण) । कर्णाली प्रदेशमा पछिल्लो दुइदिन कोरोना संक्रमण नभेटिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आइतबार हिजो र आज कोरोनाका नयाँ संक्रमित फेला नपरेको मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले दिएको जानकारी अनुसार प्रदेशभर थप ७८ जना कोरोनामुक्त भएका छन् ।
योसँगै प्रदेशमा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ५ हजार ८ सय ५७ जना पुगेको छ ।
अब कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसुलेसन सेन्टरमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय १० जना छ ।
कर्णालीमा कोरोनाबाट संक्रमित हुनेको संख्या अहिले सम्म ६ हजार ४ सय ४३ जना रहेको छ ।