सत्तारुढ नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक अन्योलमा

काठमाण्डाै, ३ मंसिर (जागरण) । सत्तारुढ नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक अन्योलमा परेको छ ।

दिउँसो १ बजे बोलाइएको सचिवालय बैठककै समय पारेर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । ओलीसहित मन्त्रीहरु ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल पार्टी सचिवालयका सदस्य हुनुहुन्छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली आजको बैठक सार्ने पक्षमा हुनुहुन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जसरी पनि बैठक राख्ने पक्षमा हुनुहुन्छ । बैठक पूर्वनिर्धारित कार्यतालिका अनुसार नै दिउँसो १ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टी महासचिव विष्णु पौडेलले आज बोलाइएको बैठक सार्न अनुरोध गर्नु भए पनि प्रचण्डले अस्वीकार गर्नुभएको छ । प्रचण्डले आफूमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेको भन्दै ओली र उहाँ पक्षका नेताहरुले प्रस्ताव फिर्ता गर्न आग्रह गरेका छन् । तर प्रचण्ड र उहाँ पक्षका नेताहरुले भने प्रस्ताव फिर्ता नहुने र बैठकमै छलफल हुने अडान लिएका छन् ।

गएको शुक्रबार बसेको सचिवालय बैठकले प्रचण्डसहित पाँच नेताले बुझाएको लिखित अनुरोधपत्र, ओली र प्रचण्डको पत्र तथा प्रचण्डको राजनीतिक प्रतिवेदन अध्ययनपछि आजको लागि बैठकको मिति तय गरेको थियो ।  दुई अध्यक्षबीच लिखितरुपमै आरोप-प्रत्यारोप र सवाल-जवाफ बढ्दै गएपछि नेकपाभित्रको विवाद थप बढेको छ ।