कर्णाली प्रदेमा थप ६३ जनामा संक्रमण पुष्टि

सुर्खेत, ५ कात्तिक (जागरण) । कर्णाली प्रदेमा थप ६३ जनामा संक्रमण पुष्टि भएको छ । बिभिन्न अस्पातालहरुका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ६३ जनामा कोरोना पुष्टी भएको हो ।
यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ६ हजार ५ सय ६ पुगेको छ । नयाँ संक्रमित हुनेमा सुर्खेतका ३९ जना, हुम्लाका १६ जना, दैलेखका ४ जना, रुकुम पश्चिमका २ र अन्य प्रदेशका २ जना रहेको कर्णाली प्रदेशको सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो ।
यस्तै थप ७० जना, कोरोनामुक्त भएका छन् । योसँगै प्रदेशमा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ५ हजार ९ सय ५८ जना पुगेको छ ।
अब कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसुलेसन सेन्टरमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय २० जना छ ।
यस्तै, एउटै विद्यालयका ५१ विद्यार्थीमा कोरोना संक्रमण भएपछि हुम्लाका सबै शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।
उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था आजदेखि बन्द गरिएको हो ।
यो विद्यालय कोरोना माहामारीका बिच सञ्चालन भएको थियो । विद्यालय सञ्चालन गर्दा नाम्खा बाहेक अन्य गाउँपालिकाबाट आउने विद्यार्थीलाई कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको थियो ।
तर नाम्खा गाउँपालिकाका विद्यार्थीको कोरोना रिपोर्ट आवश्यक नपर्ने भनिएपछि विद्यालय सञ्चालन हुदाँ नै बिवाद उत्पन्न भएको थियो ।
लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट विद्यालय सञ्चालनमा आएको हो । यस विद्यालयसँगै हुम्लाका शैक्षिक संस्थाहरु आजदेखि पुनः बन्द गरिएको छ ।