आफुहरुको लागि जग्गा उपलब्ध बनाईदिन कर्णालीका भुभीहिन नागरिकहरुको माग (अडियोसहित)

टेकराज केसी ।
सुर्खेत, ७ कात्तिक (जागरण) । कर्णालीका भुमीहिन नागरिकहरुले आफुहरुको लागि जग्गा उपलब्ध बनाईदिन माग गरेका छन् । लामो समयदेखि भुमीहिन बनेका कर्णालीका नागरिकहरुले बस्ने बास र जग्गा उपलब्ध गराइदिन माग गरेका हुन् ।
उनिहरुले आफुहरुबाट भोट मात्र लिने तर समस्याको समाधान नगरिदिएको भन्दै दुखेसो गरेका छन् ।
विशेष गरेर कर्णालीमा दलित समुदायहरु नै भुमीहिन रहेको भन्दै दलितहरुप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन नआउँदा समस्या समाधान नभएको हो ? भनी उनिहरुले प्रश्न गरेका छन् ।
वीरेन्द्रनगर सुर्खेतमा लामो समयदेखि भुमीहिन भएर बस्नुभएका अमृत कसाईले जग्गा नहुँदा अ‍ैलानीमा झपडी बनाएर बसेको भएपनि अहिले त्यही झुपडी पनि सरकारले भत्काएर उठाउन खोजेको भक्कानीदैँ कर्णाली रैबारलाई बताउनुभयो ।

उहाजस्तै नन्नकला विकले पनि आफ्नो भुमी नभएको भन्दै अहिले नगरपालिकाले उठीबास लगाउन खोजेको दुखेसो गर्नुभयो ।

यो वस्तीमा बस्ने कसैको पनि जग्गा जमिन छैन् । सरकारी जग्गामा बसेका उनिहरुलाई सरकारले उठाउन थालेको छ । उनिहरु विगतदेखि नै भुमीहिन हुँदै गरिबीमा बाच्नुपर्ने बाध्यता छ ।
यता, दलित अधिकारकर्मीहरु भने कर्णाली प्रदेशमा भएका भूमिहिन मध्ये ९० प्रतिशत जती दलितहरु भएको बताउछन् । सरकारले दलित आवासको लागि ल्याएको कार्यक्रम समेत सफल नभएको साझा मञ्च नेपाल कर्णाली प्रदेशका अध्यक्ष बसन्तकुमार बिकले बताउनुभयो ।

कर्णाली प्रदेशमा ३ लाख ६२ हजार ४९ दलितको जनसंख्या रहेको छ । जसमध्ये अधिकाँश भुमिहिन छन् । त्यस्तै सुर्खेत जिल्लामा समेत करिब ९० हजार ६ सय ९३ जनसंख्या दलित समुदायको रहेको तथ्याङ्क छ ।
यसैबिच सुर्खेत आउनुभएका भुमी सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले अबको दुइबर्षमा भुमी सम्बन्धी समस्या समाधान हुने बताउनुभएको छ ।