सुर्खेत, ७ कात्तिक (जागरण) । कर्णाली प्रदेशको दुध पहिलो पटक काठमाडौं निर्यात गर्न थालिएको छ । कर्णालीका तीन जिल्लाबाट सुर्खेतमा संकलन भइरहेको दुध कर्णाली प्रदेश राजधानीमा बिक्री नहुँदा काठमाडौं निर्यात गरिएको हो ।
करिब १५ करोड लागतमा सुर्खेतमा स्थापना भएको सुर्खेत डेरी उद्योगले सुर्खेत, दैलेख र सल्यानबाट दैनिक दुध संकलन गर्दै आएको छ । उद्योगले सुर्खेतमा दैनिक तीन हजार र दैलेखबाट एक हजार लिटर दुध संकलन गरिरहेको छ ।
सल्यानबाट भने हप्तामा दुई पटक दुई हजार दुध संकलन गरिरहेको छ । सुर्खेतमा संकलन भएको दुध खपत कम भएपछि काठमाडौं पनि निर्यात गर्न थालेका सुर्खेत डेरी उद्योगका सञ्चालक माधव धितालले बताउनुभयो । उहाँका अनुसार हरेक साता देखि १० हजार लिटर दुध काठमाडौं पठाइरहेका छन् ।
सुर्खेतको चौकुने, पञ्चपुरी, बड्डीचौर, भेडावारी, मेहलकुना, मलारानी, चिंगाडा, दैलेखको नारायण नगरपालिका, चामुण्डा र सल्यानको बागचौरबाट दुध उद्योगमा संकलन भइरहेको छ ।
काठमाडौं निर्यात हुने दुध उच्च प्रविधिको चिस्यान जडित ट्यांकरमार्फत ढुवानी गर्ने गरिएको छ ।