सुर्खेत, १० मंसिर (जागरण) । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको एकीकृत विकास समितिले वीरेन्द्रनगरका तत्कालिन आवश्यक परिपूर्ती गर्ने नीतिगत निर्णय गरेको छ ।
प्रदेश राजधानीकै सडक अस्तव्यस्त र खाल्डाखुल्डीले आवतजावतमै सकस हुन थालेपछि सरकारले राजधानी केन्द्रीत विकास आयोजनालाई पहिलो प्राथमिकतामा दिएकोे हो ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला संयोजकत्वमा बसेको प्रदेश राजधानी वीरेन्द्रनगर एकीकृत विकास सम्बन्धी बैठकले राजधानी भित्रका खानेपानी, सडक, हरियाली, पर्यटन विकास र विमानस्थल विस्तार योजनालाई पहिलो प्राथमिकतामा राखेको हो ।
मंसिर ३ र ८ गते बसेको बैठकले राजधानी भित्रका सडकलाई यथाशिघ्र निर्माण सम्पन्न गर्ने, वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्न भेरी नदीको पानी लिफ्टिङ्ग गर्ने, सडकमा सोलार बत्तीको व्यवस्था गर्दै सीसी टिभी क्यामरासहितको सुरक्षित र हरियाली राजधानी बनाउन नीतिगत निर्णय गरेको हो ।
सरकारले चालु आर्थिक वर्षमा एक अर्ब एक करोड बजेट प्रदेश राजधानीको विकास लागि विनियोजन गरेको छ ।
उत्पत्यकाको खानेपानी समस्या समाधान गर्न भेरी र झुप्रा दोभानबाट पानी लिफ्टिङ गरेर सुब्बाकुनाको अमृत डाँडामा झार्न संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई शीघ्र व्यवस्था मिलाउन निर्णय गरिएको मन्त्री ज्वालाले जानकारी दिनुभयो ।