सुर्खेत, १३ मंसिर (जागरण) । स्थानीय तहमा संचालित अधुरा आयोजना निर्माण कार्य सम्पन्न गर्न कर्णाली प्रदेश सरकारले रकम हस्तान्त्रण गर्ने भएको छ ।
प्रदेश सरकारद्धारा स्थानीय तहमा सञ्चालित आयोजना निमार्ण कार्य सम्पन्न गर्न रकम दिइने भएको हो ।
कर्णाली प्रदेश सरकार, मन्त्री परिषदको बैठकले यस्तो निणर्य गरेको हो । बैठकले विभिन्न शिर्षकमा नौ वटा निर्णय गरेको छ ।
प्रदेश सरकार अन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयले समपुरक र विशेष अनुदानबाट स्थानीय तहहरुमा संचालित अधुरा विविध आयोजनाहरुका लागि मन्त्रालयले अर्थ विविध शिर्षकबाट जम्मा २२ करोड ५७ लाख ८५ हजार बजेट सम्बन्धित स्थानीय तहहरुलाई हस्तान्तरण गर्ने छ ।
यस्तै आन्तरीक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशले ल्याएको सुरक्षा मापदण्ड, २०७७ स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रदेशको सुरक्षा रणनीति २०७७ स्वीकृति प्रदान गर्ने र शान्ति अध्ययन तथा घाईते अपाङ्ग पुर्नस्थापना केन्द्र स्थापना सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने भएको छ ।
यस्तै सल्यान कुमाख गाउँपालिका र दैलेख भगवतीमाई गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेर सम्बन्धमा नेपाल सरकार समक्ष स्वीकृतिका लागि पठाउने निणर्य भएको छ ।
यसैबिच, कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्बराज खड्का नियुक्त हुनुभएको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले खड्कालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिनुभयो ।
खड्का दैलेख नारायण नगरपालिका ८ निवासी हुन्छ । पुण्यप्रसाद रेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको उपकुलपतिमा नियुक्त भएपछि खाली रहेको पदमा खड्कालाई नियुक्त गरिएको हो ।
यस्तै, बैठकले मुख्यमन्त्रीको समन्वय विज्ञका रुपमा सुर्खेतका झकबहादुर मल्ल (सुदीप)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।