रुकुम सोती घटनाः पाँच जना अभियुक्तलाई धरौटीमा छोड्न आदेश

सुर्खेत, १३ मंसिर (जागरण) । उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा नवराज विकसहित ६ जनाको मृत्यु हुने गरी भएको घटनाका अभियुक्तमध्येका पाँचजनासँग जनही एक–एक लाख रुपैयाँ धरौटी माग गरेको छ ।
मुख्यन्यायाधीश नहकूल सुवेदीको एकल इजलासले बिहीबार घटनाका ३४ जना अभियुक् मध्ये भीमबहादुर बुढा, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनको हकमा एकरएक लाख धरौटी माग गरेको हो ।
यसअघि सोती घटनाका विषयमा तत्कालीन मुख्यन्यायाधीश कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच अभियुक्तमध्येका ६ जनालाई थुनामै राखेर कारबाही प्रक्रिया अघि बढाउने वा जमानत वा तारेखमा राख्ने सन्दर्भमा राय बाझिएको थियो ।
असोज २५ गतेको संयुक्त इजलासमा तत्कालीन मुख्यन्यायाधीश चुडालले सर्वजित भनिने सविन पुनसहित भीमबहादुर बुढा, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनलाई साधारण तारेखमा छोड्नुपर्ने राय पेस गरेका थिए भने न्यायाधीश सुदर्शनदेव भट्टले उनीहरुलाई जिल्ला अदालत रुकुम पश्चिमले थुनामा राख्ने गरी गरेको आदेश सदर गर्नुपर्ने लिखित राय पेस गरेका थिए ।
मुख्यन्यायाधीशले आफूले गरेको आदेश समर्थनका लागि सर्वोच्च अदालतको निवेदन प्रतिवेदन शाखामा पेस गर्न भनिएको छ ।
मुख्यन्यायाधीश सुवेदीको एकल इजलासले घटना विवरण कागजमा प्रतिवादी सविन पुनले भेरी नदी पार गरेर भागी रहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको, प्रतिवादी पुनले आफू नदीमा गएको र भंगालो पार गरी भागिरहेका मानिसहरुलाई समातेर प्रहरीको जिम्मा लगाएको कुरा स्वीकार गरेकाले जिल्ला अदालत रुकुम पश्चिमको आदेश मिलेको ठहर गरेको छ ।