सृजना बुढाथोकी ।
सुर्खेत, १३ मंसिर (जागरण) । सुर्खेतका दुइवटा स्थानीय तहका अस्पतालहरुको शिलन्यास गरिएको छ ।
सुर्खेत वीरेन्द्रनगरको लाटीकोइली नगर अस्पताल र वराहातालको अस्पतालको आज संघिय सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले शिलन्यास गर्नुभएको हो ।
भोली चौकुने र पञ्चपुरी अस्पतालको राज्यमन्त्री शाहीले नै शिलन्यास गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
संघीय सरकारको एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने अभियान अन्र्तगत कर्णालीका अस्पताल नभएका ३९ वटा स्थानीय तहका अस्पतालहरु एकैपट निर्माण हुने छन् ।
शिलन्यासपछि बोल्दै नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्णालीको स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन हुने बताउनुभएको छ ।
उहाले जनताको स्वास्थ्य सुधार नभएसम्म देशको अवस्थामा सुधार नहुने भन्दै स्वास्थ्य क्षेत्रको सुधारमा सरकार कट्टीबद्ध भएर लागेको बताउनुभयो ।
उहाले स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गरिएको भन्दै स्वास्थ्यमा आमुल परिवर्तन हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
यस्तै वीरेन्द्रनगर नगरपालिका प्रमुख देव कुमार शुवेदीले विकासको काम अब अगाडी बढेको बताउनुभयो ।
उहाले स्वास्थ्य सँगै अन्य क्षेत्रमा पनि विकासले गती लिन थालेको भन्दै अब समृद्धि धेरै टाढा नरहेको बताउनुभयो ।
बहुबर्षिय टेण्डरका आधारमा जतिसक्दो चाँडो अस्पताल निर्माण कार्य सम्पन्न हुने नगर उपप्रमुख मोहनमायाँ ढकालले बताउनुभयो ।
अस्पताल निर्माणपछि सबै जनशक्ति तथा उपकरण व्यवस्थापन पनि संघीय सरकारले गर्ने भएको छ । लाटीकोइली अस्पताल १८ करोड लागतमा निर्माण हुने भएको छ ।