उपयुक्त जग्गा नहुँदा प्रादेशिक औद्योगिक क्षेत्र स्थापना हुन सकेन

सुर्खेत, १७ मंसिर (जागरण) । कर्णाली प्रदेशको औद्योगिक क्षेत्र स्थापना गर्नको लागि भेरीगंगा नगरपालिका आसपासमा सम्भाव्यता अध्यन गरिने भएको छ ।
लामो समयसम्म पनि औद्योगीक क्षेत्र स्थापनाका लागि जग्गाको टुङ्गो लाग्न सकेको छैन् । अब भेरीगंगा नगरपालिका क्षेत्रमा जग्गा खोजी गर्न थालिएको हो ।
भेरीगंगा नगरपालिकाको ६, ९, १० र ११ को बीच भागमा रहेको क्षेत्र उपयुक्त हुन सक्ने भन्दै त्यस ठाउँमा सम्भाव्यता अध्यन गर्ने तयारी गरिएको छ ।
प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागि प्राविधिक सहितको टोलीले पहिलो चरणमा सम्भावित क्षेत्रको स्थलगत अध्ययन गर्नेछ ।
यदी उक्त क्षेत्रमा औद्योगिक क्षेत्रका लागि स्थानीयले सहयोग नगरेको खण्डमा भने अर्का क्षेत्रमा समेत सम्भाव्यता अध्ययन थालिने छ ।
यसअघि सुर्खेतको साटाखानी र चौरासेमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन गरिएको थियो । तर त्यहाँ भिरालो जमिन र धेरै जंगल फडानी गर्नुपर्ने भएका कारण औद्योगिक क्षेत्रका लागि उपयुक्त नभएको भन्दै अन्य स्थानको खोजी गरिन थालिएको हो । जग्गाको खोजीमै सरकारको चार वर्ष वितेको छ ।
कर्णालीमा औद्योगिक क्षेत्र स्थापनाका लागि नेपाल सरकारले २०७३ सालदेखि नै जग्गाको खोजी थालेपनि अहिलेसम्म औद्योगिक क्षेत्रको लागि उपयुक्त स्थान भेटिएको छैन् ।
संघीय सरकारले प्रदेशमा औद्योगिक क्षेत्र स्थापनाका लागि पाँच करोड रकम विनियोजन गरिएपनि जग्गा नभेटिदा रकम फ्रिज भएको छ ।
जग्गा नभएकै कारण हालसम्म कर्णालीले औद्योगिक क्षेत्रको विकासका लागि करिब पाँच करोड बजेट गुमाएको छ ।
चालु आर्थिक वर्षमा पनिजग्गाको टुङ्गो लाग्न नसके अर्थतन्त्रमा कर्णाली धेरै पछाडिपर्ने वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख जीवनारायण बन्जाडेले बताउनुभयो ।