मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आगामी सिनेट काठमाडौंमा बस्ने

सुर्खेत, २० मंसिर (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आगामी सिनेट काठमाडौंमा बस्ने भएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत आउन नसक्ने भएपछि काठमाडौंमै सिनेट बस्ने भएको हो ।
यही मंसिर ३० गते काठमाडौंमै सिनेट बस्ने गरी सम्पुर्ण तयारी सकिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिनुभयो ।
विश्वविद्यालय भएकै ठाउँमा सिनेट गर्नुपर्ने भए पनि समय अनुकुल नहुँदा यो पटक काठमाडौंमै सिनेट गर्न लागिएको उपकुलपति सिंहले बताउनुभयो ।
सिनेटमा विश्वविद्यालय सम्पतिको रक्षा गर्नेदेखि आधुनिक विश्वविद्यालय बनाउने सम्माका एजेण्डाहरु तए गरिएको उपकुलपति सिंहले बताउनुभयो । विश्वविद्यालयभित्र हिजोका विकृतिलाई कानुनतः सुधारेर लिइने बताइएको छ ।
उपकुलपति सिंहका अनुसार शैक्षिक र प्रशासनिक सुधार गरिनुका साथै विश्वविद्यालयमा यो वर्षबाट नयाँ शैक्षिक कार्यक्रमहरु पनि थप गरिने छ ।
कृषि तथा वन संकाय, मेडिकल साइन्स संकाय, अनुसन्धान विकास केन्द्र र ज्ञान सिप तथा प्रविधि सम्बन्धी कर्णाली शैक्षिक संस्थालगायतका शैक्षिक कार्यक्रम सुरु गर्न लागिएको छ । ती कार्यक्रमबारे पनि सिनेटमा छलफल गरिने छ ।
यसैबिच, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नै ‘सुरक्षा इकाइ’ बनाउने तयारी थालेको छ ।
विश्वविद्यालयको आन्तरिक सुरक्षा रेखदेखका लागि आफ्नै ‘सुरक्षा इकाइ’ बनाउन लगिएको उपकुलपति सिंहले जानकारी दिनुभयो ।
त्यस्तै १८ वर्षदेखि ५० वर्ष उमेर समूहका तर मान्यताप्राप्त संस्थाबाट सुरक्षा तालिम लिएका व्यक्तिले पनि ‘सुरक्षा इकाइ’मा प्रवेश पाउनेछन् । ‘सुरक्षा इकाइ’को आफ्नै पोसाक हुनेछ ।