न्यायिक समितिलाई जिम्मेवार बनाएर काम गर्न सुझाव

सुर्खेत, २० मंसिर (जागरण) । सुर्खेतका सरोकारवालाहरुले न्यायिक समितिलाई जिम्मेवार बनाएर काम गर्न सुझाव दिएका छन् ।
सुर्खेतमा गरिएको एक कार्यक्रमका सहभागीहरुले न्यायिक समितिलाई जिम्मेवार र प्रभावकारी बनाउन सके विपन्न नागरिकहरुले सेवा पाउने बताएका हुन् ।
कार्यक्रममा बोल्दै आवाज संस्था सुर्खेतका कार्यकारी निर्देशक पवित्रा शाहीले तल्लो सरकारको अदालतको रुपमा रहेको न्यायिक समितिका काम पारदर्शी गराउनुपर्नेमा जोड दिनुभयो ।
उहाले न्यायको पहुँचमा नभएका नागरिकहरुलाई न्यायिक समितिले नै समेट्न सक्ने भन्दै यसको प्रभावकारीता राम्रो हुनुपर्नेमा जोड दिनुभयो ।
यता, वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमायाँ ढकालले कानुन कार्यान्वयन गर्ने ठाउँमा आफुहरु रहेको भन्दै वीरेन्द्रनगरका विपन्न नागरिकहरुपनि न्यायको पहुँचमा पुगेको बताउनुभयो ।
न्यायपालिकालाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।