टेकराज केसी ।
सुर्खेत, २३ मंसिर (जागरण) । कर्णालीका सरोकारवालाहरुले विपन्न र सिमान्तकृत नागरिकहरुलाई न्यायको पहुँचमा ल्याउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् ।
आवाज संस्था सुर्खेतले आयोजना गरेको विपन्न तथा सिमान्तकृत व्यक्तीहरुलाई न्यायमा पहुँच विषयक कार्यक्रममा सहभागी भएका सरोकारवालाहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै दलित अधिकारकर्मी तथा पत्रकार महासंघ सुर्खेतका कोषध्यक्ष टेकेन्द्र विश्वकर्माले एउटै मुद्धामा पक्ष विपक्ष हुँदा नागरिकहरुले न्यायको अनुभुती गर्न नसकेको बताउनुभयो ।
उहाले दलित भएकै कारण मारिनुपरेको गुनासो गर्दै सबै नागरिकहरुलाई न्याय कहिले मिल्ने हो भन्दै प्रश्न गर्नुभयो ।
सुर्खेत जिल्ला बार उपाध्यक्ष हिमालयजंग शाहले संघियताअनुसार सबै तहमा न्यायलय रहेको भन्दै त्यसको फ्लो गर्ने दिशामा सबै केन्द्रीत हुन सके न्यायको अनुभुती हुने बताउनुभयो ।
यस्तै, उच्च अदालत सुर्खेतका बैतिनिक प्रकाश कुमार चन्दले स्थानीय न्यायीक समितिले असक्षम भनेर शिफारिस गर्ने गरेको भन्दै स्थानीय तहले असक्षम पक्षको पहिचान राम्रोसँग गरी शिफारिस गर्न आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी चन्द्र प्रसाद घर्तीले प्रहरीकाँहा आउने उजुरीहरु दर्ता जसरी पनि गरिने भन्दै प्रहरीसँग न्याय पाईँदैन की भनेर कुनै शंका नपाल्न आग्रह गर्नुभयो ।
आवाज संस्था सुर्खेतका कार्यकारी निर्देशक पिवत्रा शाहीले सबै नागरिकहरुलाई न्यायको पहुँचमा ल्याउन सचेतनामुलक कार्यक्रम आवश्यक रहेको भन्दै सबै क्षेत्रले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै, वीरेन्द्रनगर नगरपालिका उपप्रमुख तथा न्यायीक समितिका संयोजक मोहनमायाँ ढकालले न्यायीक समितिले हेर्न मिल्न मुद्धाहरुलाई आफुहरुले समितिबाट नै किनारा लगाउने गरेको बताउनुभयो । उहाले न्यायीक समितिले आफ्नो क्षेत्राअधिकार मिच्न नमिल्ने बताउनुभयो ।
कार्यक्रममा न्यायको क्षेत्रमा काम गरिरहेका व्यक्तीहरको सहभागिता रहेको थियो ।