कर्णाली प्रदेशको पहिलो चौमासिक बजेट खर्च निरासाजनक

सुर्खेत, २३ मंसिर (जागरण) । कर्णाली प्रदेशको पहिलो चौमासिक बजेट खर्च निरासाजनक देखिएको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनाको विकास बजेट खर्च जम्मा दुई प्रतिशत मात्र भएको हो ।
यही गतिमा खर्च भए बाँकी आठ महिनामा विकास बजेट कार्यान्वयन हुने सम्भावना न्यून प्राय छ ।
प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि गत असारमा ३३ अर्ब ७४ करोड १३ लाख बजेट ल्याएको थियो । जसमध्ये चार महिनाको अवधिमा जम्मा एक अर्ब १२ करोड ९९ लाख ८४ हजार रुपैयाँ खर्च गरेको छ ।
यो कुल बजेटको तीन दशमलव ९६ प्रतिशत मात्र हो । यस्तै विकास तर्फको खर्च भने न्यून छ । कुल खर्च भएको बजेट मध्ये विकासतर्फको जम्मा ४५ करोड ४७ लाख ९४ हजार रुपैयाँ मात्र छ ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विकास बजेटको खर्च जम्मा दुई प्रतिशत मात्र छ । त्यसैगरी यो अवधिमा प्रशासनिक बजेटतर्फ भने ६ प्रतिशत खर्च भएको छ ।
अघिल्ला वर्ष बजेट कार्यान्वयन नै गर्न नसकेको प्रदेश सरकारको विकास बजेट तर्फको खर्च निराशाजनक देखिएको हो । प्रशासनिक बजेट केही खर्च भएपनि विकास तर्फको बजेट खर्च न्यून छ ।
प्रदेश सरकारले विगतमा कानुन र कर्मचारीको अभावमा बजेट खर्च गर्न नसकिएको बताउँदै आएको थियो । तर यसपाली पनि खर्चको प्रगति हेर्दा पहिलो चौमासिकको प्रगति निराशाजनक नै देखिएको हो ।
समयमै बजेट कार्यान्वयन नहुने समस्या समाधान गर्न चालु आर्थिक बर्षको सुरुवातमै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता नै गर्नुभएको छ ।
उक्त सम्झौता अनुसार बजेट कार्यान्वयन गर्न नसक्ने मन्त्रीकै विकल्प खोज्ने मुख्यमन्त्रीले बताउनुभएको थियो ।
बजेट खर्च बढाउन मन्त्रीहरुले पनि सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् । तर पनि पहिलो चार महिनाको अवधिमा बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक छैन ।