सुर्खेत विमानस्थल विस्तार: उचित मुआब्जा देन जग्गा अधिग्रहणमा पर्ने नागरिकको माग

पंख बहादुर शाही ।
सुर्खेत, २३ मंसिर (जागरण) । सुर्खेत विमानस्थल विस्तार अधिग्रहण क्षेत्रभित्र पर्ने स्थानीयले विस्तारको कार्य थाल्नुभन्दा पहिला प्रभावित क्षेत्रका नागरिकहरुको व्यवस्थापनको ग्यारेण्टी गरिनुपर्ने माग राखेका छन् ।
उनीहरुले उचित मुआब्जाको व्यवस्थापन गरिदिन सरकारसँग माग गरेका हुन् ।
प्रदेशसभा सांसद यमलाल कंडेलको सहभागितामा गरिएको छलफलका क्रममा सहभागि स्थानीयले जग्गा अधिग्रहण हुने भएपछि निन्द्रा समेत हराएको भन्दै उचित व्यवस्था गरिदिन भनेका छन ।
स्थानीय कृष्णलाल ढकालले वडा कार्यालयको चिठीमा २५ विगाह भनिएको भन्दै बाहिरी रुपमा ३० विगाह अधिग्रहण गरिने भनिएकोले यसले नागरिकहरुमा अन्यौलता सृजना भएको बताउनुभयो ।
विमानस्थल विस्तारमा सबैभन्दा धेरै जग्गा अमरज्योति नमूना माविको पर्दछ । विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले विद्यालय आफैले जग्गा खरिद गर्न नसक्ने बताउनुभयो ।
विमानस्तल विस्तार कार्य थाल्नुभन्दा पहिला विद्यालयको व्यवस्थापन हुनुपर्ने उहाँको भनाई छ । विद्यालयको उचित व्यवस्थापन नभएसम्म विस्तार कार्य प्रभावित हुन सक्ने बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिका वडा नं १०, ११ र १२ का बासिन्दाले उचित मुआब्जाको ग्यारेन्टी नहुञ्जेल विमानस्थल विस्तार कार्य रोक्ने समेत चेतावनी दिएका छन् ।
हाल एक हजार २५५ मिटर रहेको विमानस्थलको धावनमार्ग करीब एक हजार ५०० मिटर पु¥याइनेछ । सुर्खेत विमानस्थल साँघुरो हुँदा ४८ सिटे जहाज उडान र अवतरण हुन्छ ।
विमानस्थल विस्तार भए ७२ सिटे जहाज अवतरण हुने बताइएको छ ।
यता, नेपाल नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले अघिल्लो भेलाको क्रममा करिब २५ देखि ३० बिघा जग्गा अधिग्रहण हुने बताउँदै जग्गा अधिग्रहणमा पर्ने नागरिकहरुलाई उचित व्यवस्थापन हुने बताउनुभयो ।
प्रदेश सरकार र संघीय सरकारबीच यही असोज १५ गते विमानस्थल स्तरोन्नतिका लागि करीब ३०० मिटर जग्गा अधिग्रहण गर्ने सम्झौता भएको थियो ।
जग्गा अधिग्रहणका लागि कर्णाली प्रदेश सरकार र संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५०÷५० प्रतिशत बजेट खर्च गर्नेछन् ।