राष्ट्रिय गौरवका सिञ्चाई आयोजनाको बजेट दोब्बर बढ्यो

काठमाण्डौं, १५ जेठ (जागरण) । सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ मा रानी जमरा, भेरी बबई डाइभर्सन सिक्टा र बबई सिञ्चाईका लागि १० अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षमा ५ अर्ब १६ करोड विनियोजन गरेकोमा आगामी आर्थिक वर्षका लागि दोब्बरले वृद्धि गर्दै बजेट विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।
सिञ्चाई आयोजनाको निर्माण कार्य निकै सुस्त गतिमा अघि बढेको छ । जसका कारण यी आयोजनाको लागत भने प्रत्येक वर्ष बढ्दै गएको छ ।
जग्गा प्राप्तीमा समस्या तथा अन्तर सरकारी निकायका समन्वय अभावका कारण यस्ता आयोजनाको निर्माण द्रुतगतिमा अघि बढ्न नसकेको देखिन्छ ।
भेरी बबई डाइभर्सन आयोजनाबाहेक अन्य आयोजनाको काम सन्तोषजनक छैन । बबई सिञ्चाई आयोजनाको आयोजना निर्माण सुरु गर्दा ३ अर्ब ७७ करोड रुपैयाँ आँकलन गरिएकोमा अहिले यसको लागत १२ अर्ब ६९ करोड पुग्ने देखिएको छ । यसको लागत अहिले ८ अर्ब ९२ करोड वृद्धि भएको छ । अहिलेसम्म यो आयोजनाले ५५ किमी नहर निर्माण सम्पन्न गरेको छ ।
सिक्टा सिञ्चाई आयोजना आयोजना निर्माण सुरु गर्दा लागत १२ अर्ब ८० करोड रुपैयाँ अनुमान गरेकोमा अहिलेको संशोधित लागत २५ अर्ब २ करोड पुगेको छ । अहिले यसको लागत १२ अर्ब २२ करोडले बढेको छ ।
कैलाली जिल्लामा निर्माणाधीन रानीजमरा कुलरिया सिञ्चाई आयोजनाको अहिलेसम्म ६८ प्रशित काम सकिएको छ । कर्णाली नदिबाट कैलालीको ३८ हजार ३ सय हेक्टर सिञ्चाइ गर्ने लक्ष्य लिएको यो आयोजनाको लागत अहिले १२ अर्ब ६५ करोड पुगेको छ ।
आर्थिक वर्ष २०६४/०६५ मा निर्माण शुरु गर्दा १२ अर्ब ६३ करोड आँकलन गरेकोमा अहिले लागत २ करोड बढेर गएको छ ।
भेरी बबई डाइभर्सन आयोजनामा सुरुङ खन्नका लागि चीनबाट ल्याएको टनेल बोरिंग मेसिन (टीबीएम ) को प्रयोग भएसँगै निर्माण कार्यमा तिब्रता आएको छ ।
यस आयोजनाका लागि १२ किमी सुरुङ खन्नुपर्छ जसमध्ये अहिलेसम्म २ हजार ४ सय मिटर सुरुङ खनिएको छ । चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेट अपुग भएको यो मात्रै एक्लो सिञ्चाई आयोजना हो ।

अनलाईनखबर ।