सगरमाथाको नयाँ उचाई करिब एक मिटर बढ्यो

काठमाडौं, २४ मंसिर (जागरण) । सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ ।
आज नेपाल र चीन बीचको संयुक्त बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीको सहभागितामा दुई देशको संयुक्त भर्चुअल समारोहमार्फत सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको हो ।
नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो ।
दुई वर्ष अघिदेखिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक गरिएको हो । चीनका राष्ट्रपति सी चिनफिङ गएको वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो ।