सल्यानमा उत्पादित टिमुरले बजार पाएन

सल्यान, २७ मंसिर (जागरण) । सल्यानमा उत्पादित टिमुरले बजार नपाएपछि व्यावसायिक खेती गरिरहेका कृषक निराश हुन थालेका छन् ।
टिमुरले मूल्य नपाएपछि विगतका वर्षमा कात्तिक–मङ्सिरमै टिमुर विक्री गरिसक्ने भएपनि यस वर्ष उत्पादित टिमुर किसानका घरमै थन्किएको हो ।
आफूहरुले उत्पादन गरेको टिमुरले बजार नपाएपछि टिपेर घरमै राखेको छत्रेश्वरी गाउँपालिका– ५ महानेटाका कृषक मोहन केसीले बताउनुभयो ।
उहाले गएको वर्षमा आफूले ३ लाख रुपियाँभन्दा बढीको टिमुर विक्री गरेको जानकारी दिनुभयो ।
गत वर्षमा टिमुरले राम्रो मूल्य पाएको भए पनि यो वर्षमा तिन सय रुपिया प्रतिकिलो विक्री हुन गाह्रो भएको टिमुर उत्पादक अर्का किसान लोकबहादुर डाँगीले बताउनुभयो ।
विगतका वर्षमा सल्यान जिल्लाको टिमुर फ्रान्समा समेत निर्यात भएको भए पनि यो वर्ष विक्री नभएको बनगाड कुपिण्डे नगरपालिका–९ का कृषक चक्रबहादुर डांगीको भनाई छ ।
लेखपोखरा, दमाचौरमा उत्पादित टिमुर विक्री भएको छैन भने निगालचुँला, कुपिण्डे दहलगायतका क्षेत्रमा उत्पादित टिमुरले पनि राम्रो बजार मुख्य पाउन सकेको छैन । टिमुर खरीदका लागि व्यापारी नआएपछि घरमा नै थन्किएको किसानको गुनासो छ ।
गत आर्थिक वर्षमात्रै सल्यानबाट करिब ३९ करोड रुपियाँ बराबरको टिमुर निर्यात भएको थियो ।