आलुको मुल बिऊ उत्पादन गरिँदै

टेकराज केसी ।
सुर्खेत, २७ मंसिर (जागरण) । दैलेख गुराँस गाउँपालिकाले कर्णाली प्रदेशकै पहिलो टिसियु प्रविधिबाट आलुको मुल बिऊ उत्पादन गर्ने भएको छ । आउँदो असारदेखि बिऊ उत्पादन गर्नेगरी काम अन्तिम चरणमा पुगेको हो ।
त्यसको लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै गाउँपालिकाले अब आलुको बिऊ किसानहरुले सस्तो मुल्यमा पाउने जनाएको छ ।
किसानहरुले महंगो मुल्यमा आलुको बिऊ किन्नुपर्ने र सस्तो मुल्यमा बेच्नुपर्दा राम्रो मुनाफा हुन नसकेको भन्दै आउँदो असारदेखि बिऊ उत्पादन शुरु गरिने गाउँपालिका अध्यक्ष खेमराज ओलीले कर्णाली रैबारलाई बताउनुभयो ।
एक बर्षमा करिब १० टन आलुको बिऊ उत्पादन गर्नेगरी काम भइरहेको भन्दै अध्यक्ष ओलीले अब किसानहरुले २० रुपैयाँ प्रति केजीका दरले आलुको बिऊ किन्न पाउने बताउनुभयो ।
गाउँपालिकालाई आलु उत्पादनको लागि राम्रो भुमी भएको मानिन्छ । गाउँपालिकाले यो आर्थिक बर्षमा मात्र करिब ४० करोड बराबरको आलु उत्पादन गरेको छ ।
यसलाई अझै बढाउन किसानलाई सस्तो मुल्यमा आलुको बिऊ उपलब्ध बनाउने योजना बनाइएको हो ।
मुल बिऊ उत्पादनका लागि नेपाल कृषि विकास फर्मको साझेदारीमा पूर्वाधार र अन्य प्रविधिहरु निर्माण गरिएको छ ।
कृषि विकास फर्मको ५१ प्रतिशत र गाउँपालिकाको ४९ प्रतिशत लगानी अर्थात तिन करोड ९९ लाख रकममा मुल बिऊ उत्पादनको लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको हो ।
उक्त काम आर्थिक बर्ष २०७४/०७५ बाट थालनी गरिएको थियो ।