सुर्खेत, १५ जेठ (जागरण) । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट कर्णालीका हिमाली जिल्लाहरुमा सीता एअरले हवाई सेवा शुरु गर्ने भएको छ ।
जुम्ला, हुम्ला, मुगु र डोल्पामा आउँदो असार १५ गते देखि हवाई सेवा शुरु गर्ने प्रतिवद्धता जनाएको हो ।
आज मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग भएको छलफल पछि सीता एयरले यस्तो प्रतिवद्धता जनाएको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव वेसिन्दराज सुवेदी र सीता एअर प्रा.लि.का वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले हवाईसेवा संचालन सम्वन्धि प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
प्रदेश राजधानी सुर्खेतवाट सिधै हवाई यातायात संचालन भएपछि दुर्गम जिल्लाका नागरीकहरुलाई नेपालगंज पुगेर सुर्खेत आउनुपर्ने समस्यावाट राहत मिल्नेछ ।
सुर्खेतवाट सिधै यात्रा गर्दा भाडादर पनि सस्तो पर्ने सीता एअरका वरिष्ठ महाप्रवन्धक आचार्यले वताउनुभयो ।