कर्णाली प्रदेशकै पहिलो कोल्ड स्टोर संचालनमा

सीपी कार्की ।
सुर्खेत, १ पुष (जागरण) । कर्णाली प्रदेशकै पहिलो कोल्ड स्टोर संचालनमा ल्याइएको छ । कर्णाली प्रदेशको प्रवेशद्वारमा भेरीगंगा नगरपालिका १० झिलमिले छिन्चुमा दुई सय मेट्रीकटन क्षमता भएको कोल्ड स्टोर संचालन ल्याइएको हो ।
कोल्ड स्टोरको उद्घाटन गर्दै कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा गरिबीमा बाँच्नुपर्ने अवस्थाको अन्त्य गर्न सहकारीको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
उहाँले अर्थतन्त्रको तीनखम्बे नीतिमा सहकारी मुलुक समृद्धिको बलियो आधार भएको बताउनुभयो ।
मन्त्री केसीले आर्थिक समृद्धिको नेतृत्व अब सहकारीले लिनुपर्ने बताउनुभयो । प्रदेश सरकारले सात करोड निजी क्षेत्रलाई दिँदा काम गर्न नसकेर फिर्ता भएको तर सहकारीहरु यस कार्यमा सफल भएका बताउनुभएको छ ।
सहकारीहरुको दिगो विकास गर्ने कुरामा प्रदेश सरकार तयार रहेको जिकिर गर्दै मन्त्री केसीले विकास निर्माणको सवालमा कोही कसैले राजनीति गर्न नहुनेमा जोड दिनुभयो ।
साना किसान कृषि सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको शीतगृहको आज उद्घाटन गरिएको हो ।