नन्द कठायत ।
सुर्खेत, १ पुष (जागरण) । कर्णाली प्रदेश सांसदहरु चढ्ने सवारी मर्मतको लागि मात्र प्रदेश सभा सचिवालयले ३९ लाख खर्च गरेको पाइएको छ ।
गत आर्थिक बर्षमा चार पाङग्रे सवारी मर्मतका लागि मात्रै ३८ लाख ४८ हजार दुइसय ३२ रुपैयाँ खर्च भएको हो ।
सभामुख, उपसभामुख, सत्तारुढ दलका सांसद र विपक्षी दलका नेता, सचेतक, विषयगत समितिका सभापति, सचिवालयका सचिव र सहसचिवले गाडी सुविधा लिएका प्रदेश सभाका लेखा अधिकृत याम बहादुर वि.सीले कर्णाली रैबारलाई बताउनुभयो ।
सबैभन्दा बढी मर्मत खर्च प्रदेश सचिवालयले प्रयोग गर्ने बा १ झ ५५१ नम्बरको गाडीमा भएको छ ।
उक्त गाडीको मर्मतको लागि मात्रै ७ लाख ३४ हजार ८ सय ८७ रकम भएको सचिवालयले जनाएको छ । ११ थान टायर खरिदमा मात्रै दुई लाख ९७ हजार रकम खर्च भएको देखिएको छ ।
अहिले सम्म सभामुख राजबहादुर शाहीले प्रयोग गर्ने बा. झ. ९८१५ को गाडीको मर्मत खर्च मात्रै ४ लाख ९५ हजार ६ सय ३५ रहेको छ ।
यस्तै, उप–सभामुख पुष्पा घर्ती चढ्ने गाडीको मर्मत खर्च दुइ लाख ५२ हजार ९ सय ३४, सांसद अम्मर बहादुर थापा चढ्ने गाडीको मर्मत रकम दुई लाख ६७ हजार ४ सय २९ रहेको छ ।
यसैगरी, सांसद गुलावजंग शाहको गाडीको मर्मत खर्च २ लाख ५२ हजार २ सय ३३ रुपैयाँ, सांसद दिनबन्दु श्रेष्ठ चढ्ने गाडीको मर्मत खर्च २ लाख ७८ हजार ६ सय ६६ रुपैयाँ रहेको छ ।
यस्तै प्रमुख प्रतिपक्ष दलका नेता जिवन बहादुर शाहीले प्रयोग गर्ने गाडिको ४० हजार ५ सय मर्मत खर्च लागेको छ ।
सांसद पदम बहादु रोकाय चढ्ने गाडीको मर्मत खर्च ४१ हजार चार ८७, सांसद यामलाल कडेल चढ्ने गाडिको ६८ हजार ४ सय ४६ रुपैया छ भने सांसद राजु नेपालीले प्रयोग गर्ने गाडिको मर्मत खर्च एक लाख २६ हजार ९ सय रुपैयाँ मर्मत खर्च भएको छ ।
यसैगरी, सांसद हिम बहादुर शाहीले प्रगोग गर्ने गाडिको मर्मत खर्च दुइ लाख २२ हजार २५ रुपैयाँ, सांसद सीता नेपालीले प्रयोग गर्ने गाडिको र्ममत खर्च ९३ हजार ९ सय रुपैयाँ रहेको प्रदेश सभाको सचिवालयले दिएको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, प्रदेश सभाले दुइ पाङग्रे गाडीको तथ्याङ्क भने उपलब्ध गराएको छैन् । केही सांसद र सचिवालय कर्मचारी चढ्ने गाडीको मर्मतको खर्च मात्रै करिब ३९ लाख भएको भन्दै सचिवालयले फ्यिुल खर्च र सवारीमा हुने अन्य खर्च विवरण संकलन भइरहेको जनाएको छ ।

