‘विकासका काममा युवा’

नन्द कठायत ।
सुर्खेत, ३ पुष (जागरण) । पुर्वाधार विकासको क्षेत्रमा रोजगारी दिएका कर्णालीका केही पालिकाहरुले यो बर्षपनि थप बेरोजगार युवाहरुलाई काम दिने तयारी गरेका छन ।
स्थानिय स्तरमा हुने विकासका कामलाई प्रभावकारी बनाउन युवाहरुलाई परिचालन गर्दै आएका कर्णालीका दुई पालिकाले वेरोजगार बसेका अन्य युवाहरुलाई पनि काम दिने तयारी गरेका हुन ।
दैलेखको गुराँस गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ देखि शुरु गरेको पुर्वाधार निर्माण कार्यदल मार्फत शुरुमा ८० जनालाई काम दियो ।
गाउँपालिकाले बेरोजगार बसेका थप ७२ जनालाई यो बर्षदेखि काम दिइएको छ । हालसम्म उक्त कार्यक्रममार्फत एक सय ५२ जना युवाहरुले रोजगारी पाएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले कर्णाली रैबारलाई बताउनभयो ।
पालिकाभित्रका साना विकासका आयोजना अन्तरगत अहिले सिचाइ, खनेपानी, सडकलगायत निमार्णका काममा युवाहरुलाई आबद्ध गराइएको उहाले बताउनुभयो ।
यस्तै, कालिकोटको पलांता गाउँपालिकाले पनि निर्वाचन लगत्तै निर्माण कार्यदल कार्यक्रम पारित गरि कार्यान्वयन गरेको थियो ।
अहिले करिब दुई सय युवाहरुलाई काम दिइएको भन्दै उनिहरुले अहिले विद्यालय भवन, स्थानीय सडक, खानेपानि निर्माण लगायतका कार्यहरु गरिरहेको गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले बताउनुभयो ।
यो अािर्थक वर्षमा पनि थप ५० जना वेरोजगार युवाहरुलाई यही कार्यक्रम मार्फत रोजगारी दिने तयारी भइरहेको उहाले जानकारी दिनुभयो । यी पालिकाहरुले १२ महिना युवाहरुलाई गाउँमै रोजगारी दिने प्रयास गरेको देखिएको छ । काम गरेवापत उनिहरुलाई दुइवटै पालिकाले मासिक १० देखि १२ हजार रकम दिने गरेका छन ।
रोजगारीसँगै विकास निर्माण काम पनि हुने भएकाले यो कार्यक्रम प्रभावकारी बन्दै गएको बताइएको छ ।