विद्युतको समस्या समाधान गर्न प्रदेश सरकारसँग माग

सुर्खेत, १५ जेठ (जागरण) । लामो समयदेखि बारम्बार विद्युत अवरुद्ध हुन थालेपछि दिर्घकालिन समस्या समाधान गर्न भन्दै सुर्खेत चेम्बर अफ कमर्सले कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
हावा–हुरी चल्ने समयदेखि वर्षाद्को समय अवधिभर अधिकांश समय विद्युत अवरुद्ध भईरहने समस्या समाधान गर्न भन्दै आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापनपत्र बुझाइएको हो ।
कोहलपुर–सुर्खेत प्रसारण लाईनमा नियमित विद्युत सेवा दिनतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराईएको हो ।
दैनिक जसो विद्युत अवरुद्ध हुँदा व्यवसायीक क्षेत्रले व्यहोर्नुपरेको करोडौँ घाटाप्रति प्रदेश सरकारको ध्यानाकर्षण पनि गराईएको छ ।
ज्ञापनपत्र बुझ्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विद्युतको तत्कालित समस्या समाधान गर्न विद्युत वितरण केन्द्र सुर्खेतलाई निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री शाहीले हावाहुरी र बर्षात्का कारण हुने विद्युत अनियमिततालाई तत्काल समाधान गर्न कम्तिमा ५ किलोमिटरको दुरीमा कर्मचारीहरु राख्न आग्रह गर्नुभयो । उहाँले पाल टाँगेरै भएपनि कर्मचारीलाई ठाउँ ठाउँमा राख्न निर्देशन दिनुभयो ।
विद्युतको समस्या समाधानका लागि निकुञ्जले विद्युत लाईन नजिक पर्ने केही रुख काट्न अनुमति दिएको भन्दै उहाँले ती रुख तत्काल काटेर सकाईने जानकारी समेत दिनुभयो ।
विद्युत लाईनभन्दा ४ मिटर वरपरका रुखहरु काट्नुपर्ने भएपनि निकुञ्जले अनुमति नदिएकाले यसबारे संघीय सरकारसंग समन्वय गर्ने पनि मुख्यमन्त्री शाहीले बताउनुभयो ।